काठमाडौं । नेकपा एमालेका प्रचारविभाग उपप्रमुख विष्णु रिजालले गभर्नरलाई निलम्बन गरेर परमादेशी सरकारले ‘टाउको दुखेको औषधी नाइटोमा’ लगाएको टिप्पणी गरेका छन् । गभर्नरलाई निलम्बन गरे लगत्तै शुक्रबार सामाजिकमा लेख्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।
तस्करीको लाइन खुलेआम खुलाएर देशको अर्थतन्त्रलाई ध्वस्त बनाउने अर्थमन्त्री जनार्दन शर्मालाई बर्खास्त गनुपर्नेमा अर्थतन्त्र सुधारका लागि सरकारलाई निरन्तर सुझाव दिइरहेका गभर्नरलाई निलम्बन गरेर परमादेशी सरकारले गलत कार्य गरेको उनको आरोप छ ।
‘यसले मुलुकलाई द्रूततर गतिमा श्रीलंकाको बाटोमा लैजानुबाहेक केही गर्दैन । अर्थतन्त्रका बारेमा कुनै सरोकार नभएका र ‘अर्थ’मा मात्रै विशेष रुचि भएका जनार्दन शर्माका गुरिल्लागिरीबाट अर्थतन्त्रलाई मुक्त गर्ने होइन भने देश टाट पल्टिने दिशामा दौडिनबाट कसैले रोक्न सक्दैन’, उनले भने ।
गभर्नर अधिकारीलाई निलम्बन गर्ने निर्णयले राजनीतिकसँगै अन्य क्षेत्रमा पनि तरंग ल्याइदिएको छ। विपक्षी दल नेकपा एमालेका नेताहरुले अर्थमन्त्री जनार्दन शर्माले आफ्नो अक्षमता लुकाउन गभर्नर अधिकारीमाथ कारबाही गरिएको आरोप लगाएका छन्।