Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • बाराको सिम्रौनगढ, गोरखाको घ्याल्चोक, काभ्रेको चौरीदेउराली, सर्लाहीको धनकौल र ओखलढुंगाको चम्पादेवीमा झडप, प्रहरीद्धारा हवाई फायर

    बाराको सिम्रौनगढ, गोरखाको घ्याल्चोक, काभ्रेको चौरीदेउराली, सर्लाहीको धनकौल र ओखलढुंगाको चम्पादेवीमा झडप, प्रहरीद्धारा हवाई फायर

    अनलाइन नेपाल
  • शुक्रबार, ३० बैशाख २०७९
  • 963
    SHARES

    काठमाडौं। बाराको सिम्रौनगढ नगरपालिका–२ बैरिया मतदान केन्द्र र गोरखाको गण्डकी गाउँपालिका–७ घ्याल्चोकको ज्ञानमार्ग माविको मतदान केन्द्रमा झडप भएको छ । झड़पका कारण सो मतदान केन्द्रको मतदान अहिले रोकिएको छ ।

    बैरिया मतदान केन्द्रमा नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) समर्थकबीच झडप भएको हो । मत हाल्न आएका मतदाताहरुलाई आफ्नो पक्षमा मतहाल्न प्रेरित गरेको विषयमा दुई पक्षबीच झडप भएको थियो ।



    यता, घ्याल्चोकको ज्ञानमार्ग माविको मतदान केन्द्रमा तनाव भएपछि प्रहरीले हवाई फायर गरेको हो । मत खसाल्ने क्रममा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच हात हालाहाल भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर गरेको हो ।



    ज्ञानमार्ग माविको मतदान केन्द्र ‘ख’मा कांग्रेस र माओवादी कार्यकर्ताले मतदानस्थलको बार पनि भत्काएका छन् । विवादका कारण केही समय मतदान प्रक्रिया पनि स्थगित भएको ‘क’ मतदान केन्द्रका सहायक निर्वाचन अधिकृत विमल रेग्मीले बताए ।

    यसैबीच काभ्रेको चौंरीदेउराली गाउँपालिकास्थित एक मतदान केन्द्रमा पनि तनावको स्थिति सिर्जना भएको छ । एक जनाको भोट परिवारभित्रकै अर्को व्यक्तिले हालेपछि विवाद सुरु भएको जिल्ला प्रहरी कार्यालय, काभ्रेले जनाएको छ ।

    यता, ओखलढुंगाको चम्पादेवीमा पनि झडप भएको छ । त्यहाँ प्रहरीले ९ राउण्ड हवाई फायर गरेको छ । नेपाली कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप भएपछि प्रहरीले ९ राउण्ड हवाई फायर गरेको हो ।

    चम्पादेवी गाउँपालिका–९ स्थित जीवन ज्योति आधारभूत विद्यालय मतदान केन्द्रमा मतदाताको लाइन मिलाउने क्रममा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

    दोहोरो झडपपछि त्यहाँ तत्काललाई मतदान कार्य स्थगित भएको र मतदान सुचारु गर्ने विषयमा सर्वदलीय बैठकका लागि पहल भइरहेको उनले बताए ।

    त्यसैगरी सर्लाहीको धनकौल गाउँपालिकास्थित मतदान केन्द्रमा ६ राउण्ड गोली चलेको छ । धनकौल गाउँपालिकास्थित पशुसेवा मतदान केन्द्रमा गोली चलेको हो । मतदानस्थल र प्रतिनिधि छनोटबारे दलहरुबीच विवाद बढेपछि ढुंगामुढा प्रहार हुन थालेपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन ६ राउण्ड हवाईफायर गरेको हो ।

    गोली चलेपछि उक्त मतदान केन्द्रको मतदान प्रक्रिया रोकिएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीले अहिले स्थिति सामान्य हुँदै गएको र केही बेरपछि मतदान प्रक्रिया सुरु हुने जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार