Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • भिजिट भिषामा दुबई पठाई करोडौं ठगी गर्ने पाँच जना पक्राउ, मूख्य योजनाकार कोमलराज उपाध्याय अझै फरार

    भिजिट भिषामा दुबई पठाई करोडौं ठगी गर्ने पाँच जना पक्राउ, मूख्य योजनाकार कोमलराज उपाध्याय अझै फरार

    अनलाइन नेपाल
  • सोमबार, १६ जेष्ठ २०७९
  • 1.9K
    SHARES

    काठमाडौं । रोजगारीको आश्वसन दिएर भिजिट भिषाको नाममा लाखौं असुलेर दुबई पुर्याई ठगी गर्ने कोमलराज उपध्यायको समूहलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले उपाध्ययकै समूहमा रहेका पाँच जनालाई सर्लाही, रुपन्देही र काठमाण्डौं जिल्लाको बिभिन्न स्थानबाट बिभिन्न मितिमा पक्राउ गरेको हो । यद्यपी त्रिनेत्र म्यानेजमेन्ट कन्सल्टेन्सीज एलएलसीका सञ्चालक उपाध्याय भने अझै फरार छन् ।

    पक्राउ पर्नेमा राईनास नगरपालिका–३, लम्जुङका ४७ वर्षिया मधुबिलास बास्कोटा, दुधकुण्ड नगरपालिका–८, सोलुखुम्बुका ५४ वर्षिया होम बहादुर खड्का, कागेश्वरी मनोहरा नगरपालिका–७ , काठमाडौंकी ३५ वर्षिया रंजना ढकाल प्याकुरेल, देवदह नगरपालिका–५, रुपन्देहीका ३० वर्षिया राजु भन्ने खुम बहादुर बस्याल कागेश्वरी मनोहरा नगरपालिका–७, काठमाडौंका ४० वर्षिया सन्तोष प्याकुरेल रहेका छन् ।



    बास्कोटा जेठ १२ गते काठमाडौंको नयाँबसपार्कबाट पक्राउ परेका हुन् । उनको मुख्य भूमिका भने बैदेशिक रोजगारमा जाने व्यक्तिको खोजि गर्ने र आर्थिक व्यवस्थापन गर्ने, सो वापत कमिसन लिने रहेको प्रहरीले जनाएको छ । जेठ १३ गते काठमाडौंको कोटेश्वरबाट पक्राउ परेका खड्का पीडितहरुको कागजात संकलन गर्ने र अन्तर्वार्ताका लागि तयारी गराउने तथा बैदेशिक रोजगारमा जाने व्यक्तिको खोजी गर्ने मध्ये मूख्य योजनाकार रहेको खुलेको छ ।



    त्यस्तै जेठ १४ गते पक्राउ परेकी प्याकुरेलले भने पीडितहरुलाई आफ्नो बैंक खातामा रकम जम्मा गर्न लगाई आर्थिक कारोबार सम्बन्धी मुख्य भुमिका निर्वाह गर्ने गरेको सिआईबीको अनुसन्धानमा खुलेको छ । जेठ १५ गते पक्राउ परेका बस्यालले भने बैदेशिक रोजगारमा जाने व्यक्तिको खोजि गर्नुको साथै सो कार्यबाट कमिसन लिने गरेको खुलेको छ । त्यसैगरी जेठ १६ गते पक्राउ परेका प्याकुरेलले भने बैदेशिक रोजगारमा जाने व्यक्तिको खोजि गर्नुको साथै सो कार्यबाट कमिसन लिने गर्दै आएको खुलेको पनि सिआईबीले जनाएको छ ।

    सिआईबीका अनुसार उनीहरुले सेक्युरीटी गार्डमा ५०० जनाको भ्याकेन्न्सी भएको, मासिक तलब ३ हजार दिरामसम्म पाउने र बैदेशिक रोजगारमा लगाई दिने भन्दै प्रतिब्यक्ति तीन लाख ५० हजार देखि आठ लाख रुपैयाँसम्म उठाएको खुलेको छ ।

    कोमलराज उपाध्याय समेतको समूहले फेसबुक, ह्वाट्याप जस्ता सामाजिक संजालको पेजमा मोबाईल नम्बर राखी दुबइ जान चाहने व्यक्तिले सम्पर्क राख्नु होला भन्ने जस्ता भ्रमात्मक विज्ञापन राखी आकर्षक तलब, सेवा सुविधाको प्रलोभन देखाई नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाबाट जागिर छोडी बसेका र सर्वसाधारणहरु व्यक्तिहरुलाई विभिन्न मितिमा भिजिट भिषामा दुबईमा पुर्‍याई ९० दिन भित्र काममा लगाई दिन्छु भनि विश्वासमा पारी काममा नलगाई बिचल्लि बनाई फरार भएकोका थिए ।

    नेपाल सरकार, श्रम मन्त्रालय, गृह मन्त्रालय, नेपाल प्रहरी तथा नेपाल र दुबई स्थित बिभिन्न संस्थाहरुको सहयोग तथा सहकार्यमा पीडित व्यक्तिहरु नेपाल फिर्ता भई हालसम्म ७६ जना पीडितहरुले प्रहरीमा दुई करोड ४३ लाख ३६ हजार ८१० रुपैंया रकम ठगी भएको भनि लिखित जाहेरी दिएका छन् ।

    लामो समयसम्म विचल्लीमा परेका युवाहरुले केही समय अघि उपाध्यायलाई घेरेपछि उनले सहमतिको कागज भने गरेका गरेका थिए । उक्त भिडियो समेत सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

    उपाध्यायले हस्ताक्षर गरेको उक्त कागजातमा उनले गत नोभेम्बर २७ मा एक हप्ता भित्र काम लगाइदिने प्रतिबद्धता गरेका थिए । तर, काम नलगाएपछि विचल्लीमा परेका युवाहरुले आफूहरुको उद्दार गरिदिन आग्रह गरेका थिए । तर, उपाध्यायलाई भने प्रहरीले पक्राउ गर्न सकेको छैन ।

    पक्राउ परेका पाँचै जनालाई मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ ९ठगी,आपराधिक विश्वासघात तथा आपराधिक लाभ सम्बन्धी कसूर० मा सम्मानित अदालतबाट म्याद लिई अनुसन्धान सिआईबीले जनाएको छ । साथै सिआईबीले यस कसूरसँग सम्बन्धित थप पीडितहरु भएमा यथाशिघ्र सम्पर्क राख्न पनि अनुरोध गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार