Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • राष्ट्रपति भण्डारीद्वारा विश्व वातावरण दिवसका अवसरमा सन्देश

    राष्ट्रपति भण्डारीद्वारा विश्व वातावरण दिवसका अवसरमा सन्देश

    अनलाइन नेपाल
  • आइतबार, २२ जेष्ठ २०७९
  • 654
    SHARES

    फाइल तस्विर

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व वातावरण दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेकी छन्। राष्ट्रपति कार्यालयबाट जारी गरिएको सन्देशमा संयुक्त राष्ट्रसंघको आह्वानमा ५० वर्ष अघिदेखि मनाउन थालिएको ‘विश्व वातावरण दिवस’को सान्दर्भिकता हरेक वर्ष बढ्दै गएको भनिएको छ।

    प्रकृतिको स्वभाविक सन्तुलनमाथि नकारात्मक दबाब उत्पन्न गर्ने मानवीय क्रियाकलापका कारण पृथ्वीको पारिस्थितिक प्रणाली, वर्षाचक्र र जलवायु सन्तुलनमा अस्वाभाविक परिवर्तन आउन थालेको वैज्ञानिक प्रमाण उपलब्ध भएसँगै वातावरण दिवसप्रतिको संवेदनशीलता वृद्धि भएको शुभकामना सन्देशमा उल्लेख छ।



    पृथ्वीजस्तो सजीव ग्रह एउटै मात्र भएकाले प्रकृतिका अन्य अवयवहरूको संरक्षण गर्दै सबैखाले प्राकृतिक स्रोतको दिगो उपभोगका लागि जीवनशैलीमा परिवर्तन ल्याई स्वच्छ र हरित मानवीय जीवन पद्दतिको विकास गर्ने कुरा आज प्रमुख चुनौतीको रूपमा रहेको राष्ट्रपति भण्डारीले बताएकी छन्।



    वातावरण अनुकूलनका कार्यक्रमहरूलाई प्रभावकारी ढङ्गले अगाडि बढाउनुका साथै शतप्रतिशत हरित वा स्वच्छ ऊर्जाको प्रयोग, विद्युतीय सरसामानको बहुउपयोग तथा इको यातायातको प्रवर्द्धनमा विशेष जोड दिन आवश्यक रहेको सन्देशमा भनिएको छ।

    त्यस्तै, सन्देशमा हरेक परिवारले उत्सर्जन गर्ने कार्बन र अन्य हरितगृह ग्यासहरू कम गरेका खण्डमा सौर्यमण्डलको सजीव पिण्डका रूपमा रहेको हाम्रो पृथ्वीको पर्यावरण थप बिग्रनबाट रोकिने र मानव अस्तित्व सहजरूपले चलिरहने आशा गर्न सकिने र यसका लागि नगण्य कार्बन उत्सर्जन गर्ने नेपालजस्ता पर्वतीय राष्ट्रले टापु राष्ट्रहरूको समेत साझा आवाज निर्माण गरी अन्तर्राष्ट्रिय मञ्चहरूमा जवाफदेहिता र ठोस प्रतिबद्धताको अभियान चलाउन अत्यावश्यक भइसकेको भनिएको छ।

    साथै वायु, जल र भूमि प्रदूषणबाट परिरहेको असरलाई कम गर्न नेपालले हासिल गरेका उपलब्धिलाई सुदृढ गर्नुका साथै विभिन्न द्विपक्षीय एवं बहुपक्षीय मञ्चहरूमा उठान गरेका विषय र व्यक्त गरेका प्रतिबद्धता कार्यान्वयन गर्न आजको दिनले थप उत्प्रेरणा दिनेछ भन्ने विश्स लिएको सन्देशमा उल्लेख गरिएको छ।

    राष्ट्रपति भण्डारीले वातावरण संरक्षणको गहन अभिभारा पूरा गर्ने काममा संलग्न संघीय वन तथा वातावरण मन्त्रालय, पूर्वाधार विकासमा संलग्न मन्त्रालयहरू, प्रदेश तथा स्थानीय सरकार, सुरक्षा अङ्गहरू, स्थानीय समुदाय, विकास साझेदार एवं सम्बद्ध सबैलाई धन्यवाद दिँदै पृथ्वीको रक्षा गर्ने महान् लक्ष्यमा निरन्तर अघि बढ्न सबैमा आग्रह गरेकी छन्। रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार