Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सशस्त्रका आईजीपी अर्यालद्धारा एथलेटिक्स प्रतियोगिताका विजेता खेलाडीहरुलाई सम्मान

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले ‘४४औं राष्ट्रिय एथलेटिक्स प्रतियोगिता’मा नेपाल एपीएफ क्लवका पदक विजेता खेलाडीहरुलाई सम्मान गरेका छन् । सोमबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा आयोजित एक समारोहका बीच उनले खेलाडीहरुलाई सम्मान गरेका हुन् ।

उक्त समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले विजयी खेलाडीहरुलाई हार्दिक बधाई दिँदै खेलकुद क्षेत्रको बिकासमा टेवा पुग्ने गरी संगठनमा आवद्ध खेलाडीहरुको मनोवल उच्च बनाई राख्न आवश्यक सेवा सुविधाहरु समेत थप गर्दै लैजाने संगठनको योजना रहेको बताए ।

उनले प्रतियोगितामा सहभागी खेलाडीहरु, व्यवस्थापक तथा प्रशिक्षकहरुलाई धन्यवाद दिए । उनले नेपाल एपीएफ क्लवका खेलाडीहरुले संगठनमा उपलब्ध श्रोतसाधनको उच्चतम प्रयोग गर्दै आगामी दिनमा समेत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिताहरुमा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरे ।

नेपाल एथलेटिक्स संघको आयोजनामा काठमाडौंको दशरथ रंगशालामा यही असार १० गतेदेखि १२ गतेसम्म संचालन भएको उक्त प्रतियोगितामा नेपाल एपीएफ क्लवका खेलाडीहरुले ९ स्वर्ण, ६ रजत र ८ कास्य गरी कुल २३ पदक जित्न सफल भएका छन् ।

कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतम लगायत सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयमा कार्यरत सशस्त्र प्रहरी बरिष्ठ अधिकृतहरु, नेपाल एपीएफ क्लवका खेलाडी तथा प्रशिक्षकहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077