काठमाडौं । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले आफूले पूर्वराजा ज्ञानेन्द्रलाई छाडेर सीधै गद्दी नातिमा जाने कुरा नगरेको स्पष्टीकरण दिएका छन् । उनले पूर्वराजा ज्ञानेन्द्रका नाति हृदयेन्द्र शाहलाई आफूले एकदिन राजाका रूपमा देख्न चाहेको भनेपछि तरंग छाएको छ ।
एक जना ट्विटर प्रयोगकर्ताले १४ वर्षअघि गिरिजा प्रसादले बेबी किङको प्रस्ताव गर्दा पूर्वराजा ज्ञानेन्द्र मान्दै नमानेको प्रसंग स्मरण गराउँदै मिश्रचाहिँ उनलाई यसमा राजी गराउन सफल भए क्यारे भनेर व्यंग्य गरेका छन् । सो ट्विट जवाफ लेख्दै मिश्रले आफूले पूर्वराजा ज्ञानेन्द्रलाई छाडेर सीधै गद्दी नातिमा जाने कुरा नगरेको स्पष्टीकरण दिएका हुन् ।
एक जना ट्विटर प्रयोगकर्ताले लेखेका छन् - '१४ बर्षअघि गिरिजा प्रसादले बालुटारको खोपामा सुनाएका थिए 'बेबीकिङ्गको प्रस्ताव गरेको, ज्ञानेन्द्र मान्दै मानेनन् । नमानेपछि मैले के गर्ने ?' गिरिजाले मनाउन नसकेको पूर्वराजालाई रवीन्द्रजीले सम्झाइ बुझाइ गरी मनाए भन्ने लाग्या छ । कलीयुगमा 'चौध बर्षे रानीवनबास' कथिने हो कि न ?
सो ट्वीटको जवाफ दिदैँ मिश्रले लेखेका छन् - 'होइन, म पत्रकार हुँदा र राजा, राजा नै हुँदा २ पटक भेटेपछि मैले कहिल्यै पनि उनलाई भेटेको छैन। अब चाहिँ मिलेमा भेट्छु। दोस्रो, मैले राजा ज्ञानेन्द्रलाई छोडेर गद्दी सिधै नातिमा जाने कुरा गरेको छैन। नेताले दिनदिन गल्ती गर्न/देश दोहन गर्न हुने,राजाले गल्ती सुधार्न नपाउने भन्ने हुँदैन।'
‘विचारभन्दा माथि देश’ दस्तावेज लेखेयता अप्रत्यक्ष रूपमा राजतन्त्र पुनःस्थापनाका पक्षमा वकालत गरिरहेका मिश्रले शनिबार पूर्वयुवराज पारस शाहका छोरा हृदयेन्द्रलाई २१औं जन्मदिनको शुभकामना दिँदै एकदिन उनी राजा भएको हेर्ने इच्छा व्यक्त गरेपछि सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ ।