काठमाडौं । नेकपा एकीकृत समाजवादीले प्रत्येक परिवारलाई मासिक २ सय युनिट बिजुली नि:शुल्क दिने प्रतिबद्धता व्यक्त गरेको छ ।
सोमबार सार्वजनिक गरिएको घोषणापत्रमा तीनै तहको सरकारसँग सहकार्य गरेर २ सय युनिट बिजुली निस्शुल्क दिने जनाएको हो ।
घोषणापत्रमा भनिएको छ, 'तीनै तहका सरकारबाट हरेक घर परिवारलाई मासिक रुपमा २ सय युनिटसम्म विद्युत् महसुलमा छुट दिने तथा गरिबीको रेखामुनि रहेका परिवारलाई विद्युत् लाइन जडान तथा बिजुली उपभोगमा सहुलियत दिन पहल गरिने छ।'
त्यसैगरी विशेष आर्थिक क्षेत्र तथा औद्योगिक ग्रामहरूमा डेडिकेटेड विद्युत् लाइन जडान गरिने उल्लेख छ ।
जलविद्युत् परियोजनामा जनता र सरकारको संयुक्त लगानी प्रवर्द्धन गर्ने गरी घरघरमा बिजुली जनजनमा शेयर कार्यक्रम ल्याउने जनाएको छ ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै नेकपा एकीकृत समाजवादीले पहिलो संसदीय चुनावी घोषणापत्र सार्वजनिक गरेको हो ।