काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले मातहतका युनिटहरुलाई प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा पूरा गराउन प्रतिवद्ध भएर लाग्न निर्देशन दिएका छन् ।
भर्चुअल माध्यमबाट अर्यालले देशभरका वाहिनी, गण तथा गुल्म कमाण्डहरुलाई यस्तो निर्देशन दिएका हुन् । उनले निर्वाचनका बेला कार्यक्षेत्रमा खटिँदा आईपर्ने जस्तोसुकै चुनौतीहरुको सामना गर्न तयार भएर बस्न निर्देशन दिए ।
निर्वाचनको दौरानमा बल प्रयोग गर्नुपरेमा बल प्रयोगको सिद्धान्तअनुसार सबै प्रकारका सावधानी अपनाएर जिम्मेवारी पूरा गर्न र कुनैपनि कमीकमजोरी भएमा स्वयं युनिट कमाण्डर जवाफदेही हुनुपर्ने बताए ।
सवारी साधनको उचित प्रयोग, त्यसमा अपनाउनु पर्ने सावधानी र न्यूनतम श्रोतसाधनको अधिकतम प्रयोग गर्दै भोग, प्यास र थकानको परवाह नगरी २४ सैं घण्टा क्रियाशील रहँदै राष्ट्रको यस महान अभियानमा उच्च मनोवल र हौसलासहित कार्यक्षेत्रमा खटिन भन्दै उनले भने, ‘निर्वाचनका बेला हुने कुनैपनि सुरक्षा कमीकमजोरी क्षम्य हुने छैन ।’
फिल्डको वस्तुस्थिति बुझेर तत्काल चेनअफ कमाण्डमा रिपोर्ट गर्नुकासाथै मुख्यालयबाट खटिने निर्वाचन अनुगमन टोलीले समेत फिल्डमा देखिएका समस्याहरुलाई तत्काल समाधान गर्न र मुख्यालयबाट गर्नुपर्ने समन्वय, सहयोग र समाधानमा कुनै कसर बाँकी नराख्न उनले विभागीय प्रमुखहरुलाई समेत सोही अवसरमा निर्देशन दिए ।
निर्वाचनको समयमा फिल्डमा खटिँदा सामान्य भन्दा सामान्य त्रुटि समेत आफुले सुन्न र देख्न नचाहेको बताउँदै महानिरीक्षक अर्यालले बन्दोबस्ती लगायत अन्य भौतीक व्यवस्थापन संगठनले मातहत इकाईहरुसम्म पुर्याई सकेकोले त्यसको उच्चतम र भरपूर प्रयोग गर्नसमेत निर्देशन दिए ।