काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनबारे नेपालस्थित कूटनीतिक नियोगहरुलाई जानकारी गराएको छ।
आयोगले सोमबार नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिलाई निर्वाचनबारे जानकारी गराएको हो।
आयोग केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र पारदर्शी ढंगले सम्पन्न गर्न आयोग प्रतिवद्ध रहेको बताए।
उनले आवश्यक तयारी पूरा भएको जानकारी पनि उनीहरुलाई गराएका छन्। थपलियाले निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्ने कार्यमा अन्तराष्ट्रिय समुदायबाट पनि साथ र सहयोगको अपेक्षा गरेको बताए।
आयोगका उपसचिव कमल भट्टराईलेले निर्वाचनमा मतदान पछि सुरक्षा संवेदनशिलताको दृष्टिले महत्वपूर्ण मानिएको मतपेटिका सुरक्षाको लागि सुरक्षा निकायको ३ घेरा कायम हुने गरि व्यवस्था मिलाइएको बताए।
भटराईले ३ वटा अन्तराष्ट्रिय संस्था, ४४ वटा राष्ट्रिय संस्थालाई निर्वाचन अनुगमनको अधिकार प्रदान गरिएको र निर्वाचनमा ८ हजार पर्यवेक्षक परिचालन गरिएको बताए।