Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

रवीन्द्र मिश्रले गरे २५ लाखको ‘काठमाडौं-१ सरोकार कोष’ को घोषणा

काठमाडौं । काठमाडौं-१ का राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रवीन्द्र मिश्रले काठमाडौं क्षेत्र नं १ सरोकार कोष स्थापनाको घोषणा गरेका छन् ।

उनले आफ्ना पछिल्ला २ पुस्तकबाट प्राप्त हुने लेखकश्व मा थप रकम जोडेर २५ लाख रुपैयाँबाट कोष स्थापनाको घोषणा गरेका हुन् ।

मंगलबार विहान सार्वजनिक मत परिणाम अनुसार उनी १२५ मतान्तरले यो क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहसँग पराजित भएका छन् ।

मिश्रले आज प्रेस विज्ञप्ति निकाल्दै विजयी भएका सिंहलाई बधाई दिएका छन् भने काठमाडौं १ का मतदाताप्रति आफूलाई मतदान गरेकोमा आभार पनि प्रकट गरेका छन्।

यस्तो छ विज्ञप्ति:

एक सय पच्चिस मतको झिनो अन्तरबाट पराजित हुनु परेकोमा अलिकति दुखी छु तर म समाज र देश रूपान्तरणको यात्रामा पहिलेभन्दा झन् बढी दृढ भएको जानकारी गराउन चाहन्छु। गत पाँच वर्षको मेरो उतार(चढावपूर्ण राजनीति, चौतर्फी प्रतिकूलता र नियोजित घेराबन्दीकाबिच पनि जुन मत पाएँ, त्यसलाई म टुट्न दिने छैन।

‘झुठ बोलेर मत माग्दिन’ र ‘चुनाव जित्ने देश हार्ने राजनीति गर्दिन’ भन्ने मेरो दृढताको जगमा प्राप्त यो विश्वासका लागि म मतदाता तथा सबै शुभेच्छुकहरू गहिरो आभार प्रकट गर्न चाहन्छु। म त्यो शब्दमा व्यक्त गर्न सक्दिन१ यस पटक काठमाडौँ क्षेत्र नं १ मा ‘चुनावी संग्राम’ मात्र भएको थिएन, त्यो ‘चुनावी महासंग्राम’ थियो।

धेरै साथीहरूले निर्वाचन परिणामबारे चिन्ता गर्दै म प्रति गहिरो सहानुभूति व्यक्त गरिरहनुभएको छ। अलि आध्यात्मिक प्रकृतिको व्यक्ति हुनाले म “कर्म गर फलको ‘भर’ नपर” भन्ने मान्यता राख्दछु। कर्मको फल आफ्नो नियन्त्रणमा छैन भन्ने विश्वास गर्दछु। तसर्थ, म ‍जीवनका प्रतिकूलताहरूलाई सहज रूपमा ग्रहण गर्न सक्छु।

म मेरा शुभेच्छुक मतदाता र सहयोगी साथीहरूबारे सोचेर भावुक छु, जसमध्ये कतिपयको आँखामा मैले २०७४ साल र हालको निर्वाचन प्रचारको क्रममा स्नेहमात्र होइन, टलपलाएको आँशु पनि देखेको छु। राजनीति यस्तो क्षेत्र हो जहाँ जिम्मेवारीमै नपुगी ठोस काम गरेर देखाउन नसकिने रहेछ। म २०७४ साल र यसपटकको निर्वाचन दुवैमा झिनो मतले पराजित भएँ। तर ममाथि यति ठूलो विश्वास व्यक्त गर्ने काठमाडौँ क्षेत्र नं एक का मतदाताका लागि मैले केही गर्न सकेको छैन।

मेरो पृष्ठभूमि पत्रकारिता ‍र परोपकारसँग जोडिएको छ। मैले पत्रकारितामा फर्किने या पत्रकारितामार्फत् आफ्नो निर्वाचन क्षेत्रलाई योगदान गर्ने सम्भावना म देख्दिन। तर व्यापक प्रतिकूलतामाझ पनि ममाथि विश्वास गर्ने काठमाडौँ क्षेत्र नं एकका मतदाताप्रति आभार प्रकट गर्न मैले मेरा पछिल्ला दुई पुस्तक (विचारभन्दा माथि देश र राजनीतिसँगै राजकाज) बाट प्राप्त हुने लेखकश्व र त्यसमा थप रकम जोडेर रू २५ लाखको ‘सीड मनि (बीज पैसा)’ बाट ‘काठमाडौँ क्षेत्र नं १ सरोकार कोष’ स्थापना गर्ने निर्णय गरेको छु। त्यसले मलाई मनमा अलिकति भए पनि शान्ति दिनेछ।

मेरै अग्रसरतामा स्थापित परोपकारी संस्था हेल्प नेपाल नेटवर्क पनि यस्तै सानो रकमबाट शुरू गरिएको थियो र विश्वभरीका नेपाली(नेपाली मिलेर त्यसले आज सयौँ परोपकारी काम गरिसकेको छ। त्यसैगरि ‘काठमाडौँ क्षेत्र नं १ सरोकार कोष’ ले पनि भविष्यमा यो क्षेत्र ९वडा नं १०, ११, २९ र ३१० भित्र धेरै राम्रा कामहरू गर्न सक्नेछ भन्नेमा म विश्वस्त छु। विश्वका विभिन्न मुलुकमा बस्नुहुने काठमाडौँ क्षेत्र नं १ का तथा अन्य शुभेच्छुकहरूले सो कोषमा सहयोग गर्न सक्नुहुनेछ। सो कोषलाई कसरी ‍औपचारिक बनाउने, कसरी सञ्चालन गर्ने र  के कस्ता काममा केन्द्रित गर्ने भन्नेबारे म केही समयभित्र जानकारी गराउनेछु।

निर्वाचनमा विजयी हुनुभएका प्रकाशमान सिंहलाई बधाई तथा शुभकामना अर्पण गर्दै आगामी कार्यकालमा तपाईँलाई यो समाज र देशलाई शीरमा राखेर आफ्नो जिम्मेवारी निर्वाह गर्ने प्रेरणा र शक्ति मिलोस् भन्ने कामना गर्दछु।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077