Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भक्तपुरमा बर्डफ्लु देखियो, १० हजार कुखुरा नष्ट

भक्तपुर । भक्तपुरका कुखुरामा बर्डफ्लू भेटिएको छ । चाँगुनारायण नगरपालिका–८ सुडालको रातोपाटीस्थित तीनवटा कुखुरा फार्ममा पालिएका कुखुरामा बर्डफ्लू भेटिए पछि आज कुखुरा, चल्ला, अण्डा र दाना तथा अन्य पदार्थ नष्ट गरिएको छ ।

रातोपाटीस्थत तीन फार्ममा पालिएका कुखुरामा बर्डफ्लू देखिएको पशुसेवा विभागले जनाएको छ । विभागका अनुसार सो स्थानमा सञ्चालनमा रहेका चाँगुनारायण पोल्ट्री एन्ड ह्याचरी उद्योग प्रालि, अर्जुन गिरी पोल्ट्री फार्म र आदित्य पोल्ट्री फार्ममा पालिएका कुखुरामा बर्डफ्लू भेटिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले जानकारी दिए ।

पशु विभागका चिकित्सक डा। श्रीजा वाग्लेका अनुसार फार्ममा पालिएका कुखुरा धमाधम मर्न थाले पछि कुखुरामा गरिएको परीक्षणमा तीन वटै फार्मका कुखुरामा बर्डफ्लू भेखिएको छ । कुखुरामा बर्डफ्लू भेटिएपछि आज पशु चिकित्सक वाग्ले, पशु सेवा विभागका प्राविधिक आत्माराम शर्मा, चाँगुनारायण–८ का वडाध्यक्ष जनक खत्री, चाँगुनारायण नगरपालिका पशुपन्छी सेवा विकास शाखाका कर्मचारी र प्रहरीको टोली खटिएर फार्मका रहेका कुखुरा नष्ट गरिएको छ ।

तीनवटै फार्ममा रहेका १० हजार चार सय ८० वटा कुखुरा, एक हजार ५० कुखुराका चल्ला, चार हजार पाँच सय २३ वटा अण्डा र एक हजार चार सय ७५ केजी दाना नष्ट गरेको प्रहरी उपरीक्षक केसीले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077