काठमाडौं । आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिज अन्तर्गत युएई भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले पपुवा न्यु गिनीविरुद्ध चार विकेटको जित निकालेको छ । सिरिजको पहिलो खेलमा नेपालले पीएनजीलाई चार विकेटले हराउँदै सिरिजमा विजयी सुरुवात गरेको हो ।
योसँगै नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा लगातार ५ विजयको कीर्तिमान बनाएको छ । टस हारेपछि ब्याटिङमा आएको पपुवा न्यु गिनीले दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा निर्धारित ५० ओभरमा ९ विकेट गुमाई २ सय ३ रन बनाएको थियो । ओपनर कुशल भुर्तेलको अर्धशतकबाट प्रेरित नेपालले ४५.२ ओभरमा २०७ रन बनाउँदै विजयी लक्ष्य पूरा गर्यो ।
कुशलले ५६ रन बनाए । एकदिवसीय अन्तर्राष्ट्रियमा यो उनको चौथो अर्धशतक हो । ६९ बलको इनिङ्समा उनले ५ चौका प्रहार गरे । कुशल र आसिफ शेखले पहिलो विकेटमा १५ ओभर भित्र ७६ रनको ठोस साझेदारी गरी नेपालको विजयको आधार बनाए । आसिफले ३९ बल खेल्दै ५ चौकासहित ४४ रन बनाए ।
आसिफ रनआउट भए । आफ्नै कलमा रन लिन दौडिए पनि नन स्ट्राइकमा रहेका कुशलले याद नगरेपछि आसिफ रनआउट भए । ज्ञानेन्द्र मल्ल ४ रन बनाई इनसाइड एज लागेर नोर्मन भानुआको बलमा बोल्ड भए । कप्तान रोहित पौडेलले ३४ बलमा १४ रन बनाए ।
टोलीमा फर्किएका आरिफ शेखले दीपेन्द्रसिंह ऐरीसँग पाँचौं विकेटमा ५४ रनको साझेदारी गरे । ६ बलको अन्तरमा यी दुवै आउट भए । आरिफले ६६ बल खेल्दै १ चौका र १ छक्का प्रहार गरि ३८ रन बनाए । दीपेन्द्र १७ रनमा आउट भए । कुशल मल्ल १२ र सोमपाल कामी ५ रन बनाई अविजित रहे । पपुवा न्यु गिनीबाट असाद भालाले ३ विकेट लिए । उनले १० ओभरमा ३७ रन खर्चे ।
ययसअघि दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ गरेको पीएनजीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन बनायो । उसका आसाद भाला र चाद सोपरले समान ३६ रन बनाए । बलिङतर्फ नेपालका गुलशन झाले ३ र कुशल मल्लले २ विकेट लिए । यस्तै सोमपाल कामी, करण केसी र प्रतिस जिसीले १/१ विकेट लिए ।
अघिल्लो साता नेपालले घरेलु मैदानमा लिग-२ को नामिबिया र च्याम्पियन स्कटल्यान्डविरुद्धको २–२ खेल गरी सबै ४ खेल जित्दै क्लिन स्विप गरेको थियो ।