काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता मोहनकुमार श्रेष्ठले राष्ट्रपति चुनावबारे छलफल गरेर सहमतिमै निर्णय लिइने बताएका छन्।
फेसबुकमा लामो स्टाटस लेख्दै उनले राप्रपाको जस्तै विचार बोक्नेहरू सधैँ प्रतिपक्षीजस्ता देखिएको उल्लेख गरेका हुन् ।
उनले भने,‘राष्ट्रपति निर्वाचनका सन्दर्भमा विभिन्न कोणबाट आएका सुझाव हाम्रो नोटिसमा छन्। राजनीतिक दलले कार्यकर्ताको भावना र जनभावना अनुरुप आफूलाई गतिशील बनाउने हो।
सबैलाई थाहै छ, कुनै निर्णय गर्दा राप्रपाले वृहत छलफल गरेर निर्णय गर्ने गरेको छ, यसपटक पनि त्यसै गर्छ, सुझबुझपूर्ण निर्णय गर्छ। तर यसो गरिए खबरदार, उसो गरिए बर्बाद हुन्छ भन्नेजस्तो अभिव्यक्ति जिम्मेवार निकायमा रहेका साथीहरूबाट यदाकदा आउने गरेको छ ।’
उनले चुनावमार्फत् स्थापित भएको शक्तिलाई निशाना बनाइएको भन्दै टिप्पणी गरे। उनले रवीन्द्र मिश्रको हारमा राजावादी भनिनेहरू नै कारक रहेको पनि बताएका छन् ।
श्रेष्ठले लेखेका छन्, ‘एकाध राजावादी छन् तिनले आफैं उम्मेदवार बनेर राप्रपाका उमेदवारलाई हराइदिए । रवीन्द्र मिश्रको हारमा राजावादी भनिनेहरू नै हारको कारण बन्न पुगेका होइनन् र ? हामीलाई जान्न मन छ, हिन्दूराष्ट्र र राजसंस्थाको मुद्दा लिएर राजनीतिक समूह बनाएका, आफ्नै उम्मेदवार खडा नगरेका १०० भन्दा बढी दल र समूहले गएको निर्वाचनमा कहाँ भोट हाले ?’
आफूहरूको साझा लक्ष्य राजसंस्था, हिन्दूराष्ट्रको पक्षमा र संघीयताको विपक्षमा जनमत बटुल्ने हुनुपर्ने भन्दै आफूलाई राम्रो बनाउने र आफ्नो अभियान सञ्चालन गर्ने क्रममा अर्कोलाई दोषी देखाउने प्रवृत्ति राष्ट्रवादी आन्दोलनको सबैभन्दा कमजोर पक्ष भएको श्रेष्ठको भनाई छ ।
पार्टीले कुनै पनि विषयमा निर्णय गर्दा कार्यकर्ता र शुभेच्छुकको भावना प्रतिविम्बित गर्ने गरेको उनले बताए।