काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-२अन्तर्गत त्रिवि क्रिकेट मैदानमा यूएई पीएनजीसँग पराजित भएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पीएनजीले दिएको २ सय ४७ रनको लक्ष्य पछ्याएको यूएई ४२.२ ओभरमा १ सय ९० रन बनाएर अलआउट हुँदा पीएनजीले ५६ रनको जित निकाल्यो ।
यसअघि, यूएई आफ्नै मैदानमा पीएनजीसँग दुईपटक पराजित भएको थियो । यूएईका लागि दोस्रो नम्बरमा क्रिजमा आएका आर्यन लाक्राले सर्वाधिक ५१ रन योगदान गरे । उनले, ७२ बल खेल्दै ५ चौका र एक छक्का प्रहार गरे ।
ओपनर मोहमद वासिम २७ बलमा ४ चौका र तीन छक्काको मद्दतमा ४१ रनमा क्याचआउट भएका थिए । पीएनजीका रिले हिकुरेले सर्वाधिक तीन विकेट लिए । काबुआ मोइरा र कप्तान आसाद भालले समान दुई विकेट लिँदा सिमोन कामिआ र नोर्मान भानुवाले एक–एक विकेट लिए ।
यसअघि, पहिला ब्याटिङ गरेको पीएनजीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २४६ रनको योगफल तयार पार्यो ।पीएनजीका सेसे बाउले सर्वाधिक ८१ रनको अविजित इनिङ खेले । उनले १ सय ६ बल खेल्दै १० छक्का प्रहार गरे ।
ओपनर किप्लिन डोरिगा पहिलो विकेटका लागि हिरीहिरीसँग अर्धसतकीय साझेदारी गर्दै ४४ बलमा ८ चौका र २ छक्कासहित ५५ नमा आउट भए । यूएईको बलिङमा आर्यन अफजल खानले १० ओभरमा तीन मेडन राख्दै ३४ रन खर्चिएर सर्वाधिक तीन विकेट लिए ।
जाहुर खान र जुनाइद सिद्दीकीले समान दुई विकेट लिँदा, रोहन मुस्तफा र कार्थिक मियाप्पनले एक–एक विकेट लिए । पीएनजीसँगको हारपछि यूएईलाई शीर्ष पाँचमा रहेर एकदिवसीय मान्यता जोगाउन बाँकी तीन खेल जित्नै पर्ने दवाव रहेको छ । यूएईले दोस्रो खेल आइतबार नेपालसँग खेल्ने छ ।