Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • मोर्चा बनाएर तेस्रो शक्ति बन्ने कसरत

    मोर्चा बनाएर तेस्रो शक्ति बन्ने कसरत

    अनलाइन नेपाल
  • बिहिबार, २ चैत्र २०७९
  • 441
    SHARES

    काठमाडौं । सत्ता गठबन्धनमा रहेका तीन दलले संसद्मा तेस्रो बलियो शक्तिका रूपमा स्थापित हुन गृहकार्य थालेका छन् । नेपाली कांग्रेस र नेकपा एमालेपछि संसद्मा तेस्रो बलियो शक्ति बनाउने गृहकार्यमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी (नेकपा एस) र जनता समाजवादी पार्टी (जसपा) जुटेका हुन् ।

    हाललाई समाजवादी मोर्चा बनाएर अघि बढ्न खोजेका यी दलबीच भविष्यमा एकतासमेत हुन सक्ने बताइएको छ। उनीहरूले यसलाई राजनीतिमा तेस्रो धारको रूपमा पनि परिभाषित गर्न खोजेका छन् ।



    तीन दलको मोर्चा बने संसद्मा यो तेस्रो शक्ति बन्नेछ। यो शक्तिलाई हातमा नलिई कसैले पनि सरकार बनाउन नसक्ने अवस्था सिर्जना गर्न मोर्चा बनाउन लागिएको नेकपा एसका एक नेताले बताए। प्रतिनिधिसभामा माओवादी केन्द्रका ३२, नेकपा एसका १० र जसपाका १२ सांसद छन्। यी तीन दलको मोर्चा बने सांसदको यो संख्या ४४ पुग्नेछ।



    प्रतिनिधिसभामा सबैभन्दा ठुलो दल कांग्रेसका ८९ र दोस्रो ठुलो एमालेका ७८ सांसद छन्। ‘तेस्रो धार निर्माण गरेर कांग्रेसलाई पनि यो धार बाहिर रहेर सरकार बनाउन नसक्ने र एमालेलाई पनि सरकार बनाउन कठिन बनाउने उद्देश्य राखिएको छ,’ स्रोतले भन्यो।

    सत्ता गठबन्धनभित्रै रहेका जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले कार्यगत मोर्चा बनाएका छन्। उक्त मोर्चाबाट डराएका जसपा अध्यक्ष उपेन्द्र यादवले समाजवादी मोर्चाका लागि आफू तयार भएको संकेत गरेपछि माओवादी केन्द्र र नेकपा एस त्यसतर्फ अग्रसर भएका हुन्।

    नेकपा एसका प्रवक्ता एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले संसद्मा तेस्रो शक्तिका रूपमा उपस्थित हुन समाजवादी मोर्चा निर्माणको पहल भइरहेको पुष्टि गरे। ‘संसद्मा बलियो तेस्रो शक्तिको आवश्यकता महसुस भएको छ, यसबारे विभिन्न दलसँग कुराकानी भइरहेको छ,’ उनले भने। नागरिक दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार