काठमाडौैं । सशस्त्र प्रहरी बलले ३५ करोड रुपैयाँ बराबरका स्नो पार्का ज्याकेट र स्नो स्लीपीङ ब्यागसहितका हिमाली आइटमका सामान खरिदको टेण्डरमा रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य बिष्णकुमार श्रेष्ठको कम्पनीलाई दिनेगरी सेटिङ भएको तथ्य खुलेको छ । आफूलाई बिष्णु पुरुषका नामले चिनाउने श्रेष्ठ गार्मेन्ट ब्यवसायी हुन् ।
लामिछाने उपप्रधान तथा गृहमन्त्री हुँदै हिमाली आइटमको लागि तत्कालीन अर्थमन्त्री बिष्णुप्रसाद पौडेलसँग भनेर सशस्त्रको हिमाली आइटम खरिदको बजेट छुट्याउन लगाइएको थियो । रवि लामिछानेको पार्टीका केन्द्रीय सदस्य बिष्णुकुमार श्रेष्ठको नाममा रहेको कम्पनीबाट सशस्त्रमा बोलपत्र पेश गर्ने कार्य विवादित ठेकेदार राजमान मिश्रले गरेको खुलेको छ ।
सशस्त्र प्रहरी बलका आइजीपी राजु अर्यालकै निर्देशनमा अरु ठेकेदारको नमूना समेत पेश गर्न नदिई बिष्णुकुमार श्रेष्ठ र राजमान मिश्रको कम्पनीको नमूना मात्र पेश गर्न लगाइएको थियो । कोषराज वन्त आईजीपी हुँदा आर्थिक प्रशासनमा रहेका हालका आईजीपी अर्यालसँग ठेकेदार मिश्रको हिमचिम बाक्लो छ । उनी अर्यालको निवासमा समेत बाक्लै आउजाउ गर्दैआएका छन् ।
[insert page='198805' display='yopanipadhnuhos.php']
रवि लामिछाने गृहमन्त्री भएपछि अर्थ मन्त्रालयबाट सशस्त्रको हिमाली आइटमदेखि विभिन्न बन्दोबस्ती सामान खरिदका लागि ठूलो रकम निकासा गर्ने कार्यमा राजमान मिश्रले बिष्णुकुमार श्रेष्ठलाई प्रयोगमात्र गरेनन्, उनको कम्पनीसँग मिलेर जेभीमा ३५ करोड भन्दा बढीको सामान खरिदको ठेक्का लिने सफलता प्राप्त गर्दैछन्।
सशस्त्रले मिश्र र श्रेष्ठको जेभीलाई ठेक्का दिनेगरी प्राविधिक प्रस्ताव बिहीबार खोलिसकेको छ । अरु कुनै ठेकेदारलाई पनि भाग नलिन आइजीपी अर्यालको निर्देशन अनुसार एसएसपी होम ज्ञवालीले भनिसकेको अवस्थामा मिश्र र श्रेष्ठको कम्पनीमात्र प्राविधिक प्रस्तावमा पास भएको छ । र, आर्थिक प्रस्ताव खोलेर एक दुई दिनमै मिश्र र श्रेष्ठलाई ठेक्का दिने तयारी सशस्त्रले गरेको छ ।
तीन गुणा बढी मूल्यमा खरिद गरिंदै
देश आर्थिक मन्दीमा भएको बेला सशस्त्र प्रहरी बलले भने बजार मूल्य भन्दा तीन गुणा बढी मूल्यमा हिमाली आइटम खरिद गर्न लागेको छ । ५ हजार रुपैयाँमा गुणस्तरीय हिमाली पार्का ज्याकेट पाइन्छ तर सशस्त्रले ठेकेदार मिश्र र श्रेष्ठसँग् १६ हजार प्रति गोटामा खरिद गदैछ । स्नो पार्का ज्याकेट पनि ४ हजार ७ सय ५० पिस मागिएको छ । पार्का ज्याकेटको लागि ७ करोड ६० लाख रुपैयाँ छुट्याइएको छ ।
स्नो स्लीपीङ ब्याग ४ हजार ७ सय ५० पिस मागिएको छ । स्लीपीपीङ ब्याग उच्च गुणस्तरकै बजारमा प्रतिथान ७ हजारमा पाइन्छ । तर प्रतिथान १६ हजार रुपैयाँमा खरिद गरिंदैछ । स्नो स्लीपीङ ब्याग खरिदको बजेट पनि ७ करोड ६० लाख नै छ ।
गुणस्तरीय स्नो बुटको बजारमा बढीमा ९ हजार रुपैयाँ पर्ने भए पनि १५ हजार २ सय रुपैयाँमा खरिद गर्न लागिएको छ ।
[insert page='208490' display='yopanipadhnuhos.php']
सशस्त्र प्रहरी बलको आर्थिक प्रशासनका प्रमुख एसएसपी होम ज्ञवालीले श्रेष्ठको कम्पनीले पेश गरेको नमूनासँग मात्र मिल्ने गरी स्पेसिफिकेसन राखेको आरोप छ । ज्ञवालीले नै अरु ठेकेदारलाई यो पटकलाई मिश्र र बिष्णुको कम्पनीलाई काम दिने भनेर आइजीपी अर्यालको हवाला दिदै सेटिङमा हिमाली आइटमको ठेक्का दिन लागिएको छ । सशस्त्रले गएको माघ १९ मा हिमाली आइटम स्नो ज्याके, स्नो बुट, स्नो स्लीपीङ ब्यागको बोलपत्र सूचना निकालिएको थियो ।
सशस्त्रमा अहिलेसम्मकै ठूलो खरिद मानिएको हिमाली आइटम सहितको स्नो पार्का ज्याकेट र स्नो स्लीपीङ ब्यागसहितको ५ किसिमका सामानको ठेक्का चलखेल भएको र प्रचलित मूल्य भन्दा ३ गुणा बढीमा खरिद गर्ने तयारी भएको समाचार बारम्बार आइरहेको छ । राष्ट्रको ढुकुटीमा यस्तो किसिमको बम्हलुट गर्ने कार्यमा पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्न चासो नदेखाउनु अर्को आश्चर्यका रुपमा लिइएको छ ।