Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • नलगाड हाइड्रो : ६ वर्षमा ६ अर्ब खर्च हुँदा डीपीआर समेत बन्न सकेन, जाइकाको लगानी गर्ने इच्छा

    नलगाड हाइड्रो : ६ वर्षमा ६ अर्ब खर्च हुँदा डीपीआर समेत बन्न सकेन, जाइकाको लगानी गर्ने इच्छा

    अनलाइन नेपाल
  • आइतबार, १० बैशाख २०८०
  • 603
    SHARES

    काठमाडौं । नलगाड जलविद्युत् आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) बनाउने जिम्मा पाएका तीन कम्पनीले ६ वर्षसम्म पनि काम पूरा गर्न सकेका छैनन् । डीपीआरको काम अस्ट्रेलियन कम्पनी स्मेक, अमेरिकन एमडब्लूएच र नेपालको उदय जेभीले संयुक्त रूपमा गरिरहेका छन् । सन् २०१६ मा ३१ महिनामा

    काम सक्ने गरी नलगाड जलविद्युत् कम्पनी र सम्बद्ध परामर्शदाता कम्पनीबीच सम्झौता भएको थियो । तर, अहिलेसम्म उक्त काम सकिएको छैन ।



    डीपीआरका लागि अहिलेसम्म झन्डै ६ अर्ब रुपैयाँ सकिएको छ भने ६ वर्ष बित्दा पनि काम पूरा हुन सकेको छैन ।



    यसअघि डीपीआरकर्ताको मागअनुसार अगस्ट २०१९ मा पहिलो पटक ३ महिना र अगस्टदेखि मे २०२० सम्म ९ महिना दोस्रो पटक गरी डीपीआरको म्याद थपिएको थियो । डीपीआर नभएका कारण नलगाड जलविद्युत् आयोजनाका अन्य गतिविधि अघि बढ्न सकेको छैन ।

    सम्झौता भएको २ वर्षभित्र बुझाएर स्वीकृत गराइसक्नुपर्ने वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन गत शुक्रबार मात्रै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतलाई बुझाइएको छ । गृह जिल्लाका मन्त्री बस्नेतले उक्त प्रतिवेदन स्वीकृतिका लागि वन मन्त्रालयमा पठाएका छन् ।

    अहिलेसम्म आयोजनामा मुआब्जा वितरणमा ३ अर्ब, डीपीआरमा डेढ अर्ब, बाटो, पुल, आर्मी क्याम्प र अफिस भवन निर्माणमा २ अर्ब गरी करिब ६ अर्ब रुपैयाँ खर्च भएको बताइएको छ । अहिलेसम्म बाँधस्थल बारेकोट–८ मा ४ वटा ६०र६० मिटरका सुरुङ बनिसकेका छन् । त्यस्तै पावरहाउस दल्लीमा ३ सय ५५ मिटर लामो सुरुङ बनेको छ ।

    जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले आयोजनामा लगानी गर्ने इच्छा राखेको छ । त्यसबारे पूर्वमन्त्री, सचिव र सहसचिवस्तरमा पटकपटक छलफल भइरहेको छ । आयोजना निर्माणमा प्रसारण लाइनबाहेक प्रतिमेगावाट लागत ३१ करोड र प्रसारण लाइनसहित ३५ करोड खर्च हुने देखिएको छ ।

    आयोजनाका लागि नलगाड खोला र ठूलीभेरीको दोभान दल्लीमा भूमिगत पावर हाउस निर्माण हुनेछ । आयोजनाबाट एक वर्षमा १ हजार २ सय ३२ मेगावाट (घण्टा) ऊर्जा उत्पादन हुने जनाइएको छ । आयोजनाबाट उत्पादित विद्युत् ४ सय केभी डबल सर्किट प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणको कोहलपुर सबस्टेसनमा जोडिनेछ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार