काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भ्रष्टाचारविरूद्ध प्रदर्शन गर्ने भएको छ ।
नक्कली भुटानी शरणार्थी लगायतका प्रकरणमा ठूला ओहोदामा बसेकाहरू नै संलग्न देखिएको भन्दै राप्रपाले प्रदर्शन गर्न लागेको हो ।
भ्रष्टाचार न्यूनीकरणमा राज्य उदासीन भएको राप्रपाको आरोप छ । विरोध प्रदर्शन दिउँसो १ बजे हनुमानढोका दरबार क्षेत्रमा आयोजना गरिएको राप्रपाले जनाएको छ ।
विरोध प्रदर्शनलाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सम्बोधन गर्ने कार्यक्रम छ। राप्रपाको केन्द्रीय कार्य समितिको बैठक जेठ १, २ र ३ गते बसेको थियो।
राप्रपा बैठकले नक्कली शरणार्थी प्रकरणलाई राज्य द्रोहको अपराध भएको निष्कर्ष निकालेको थियो।
राप्रपाले माओवादी लडाकु शिविर प्रकरण, ललिता निवास काण्ड, एनसेल आदि सतहमा आएका विषय छानबिन गर्न र दोषीलाई कारबाही गर्न माग गरेको थियो।