Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एभरेष्ट बैंकका कर्मचारीद्धारा ग्राहकको करोडौं रकम ठगी, प्रवन्धकसहित ९ जना पक्राउ

सुनसरी । एभरेष्ट बैंक इटहरी शाखाबाट ग्राहकको डेढ करोडभन्दा बढी रुपैयाँ ठगी गर्ने म्यानेजरसहित ९ जना कर्मचारी पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनसार एभरेष्ट बैंक इटहरीका शाखा प्रमुख म्यानेजर सिन्धुपाल्चोक घर भएका बिश्वराज शाक्यसहित ९ जना कर्मचारी पक्राउ परेका हुन् ।

ग्राहकको एक करोड ५० लाख २३ हजार ४ सय ३४ रकम ठगी गर्ने कार्यमा संलग्न भएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक राजकुमार राईका अनुसार एभरेष्ट बैंकको इटहरी शाखाबाट विभिन्न ३३ जना ग्राहकको बैंक खाताबाट एक करोड ५० लाख २३ हजार ४ सय ३४ रुपैयाँ रकम ठगी गरेको खुलेको छ ।

पक्राउ पर्नेमा बैंकका अप्रेसन इन्चार्ज विराटनगरका निरज प्रधान, काठमाडौं घर भएका सुपरभाइजर धावा लामा, कनिष्ट सहायकहरू भोजपुरका मनोज घिमिरे, इटहरीका देवराज घिमिरे, रन्जित पण्डित र टेलर पवित्रा कटवाल रहेका छन् । त्यस्तै रकम ठगी गर्ने गिरोहमा संलग्न धनुषाका शंकर भुजेल र भक्तपुरका अजय खिउजुलाई पनि पक्राउ गरिएको सुनसरी प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी राईका अनुसार बैंकका कर्मचारीले बैंकको कम्प्युटर आइडी पासवर्ड दुरुपयोग गरी कन्ट्र्याक आइपीएसमार्फत् १४ नोभेम्बर २०२२ देखि ३१ मार्च २०२३ सम्म ५९ पटक बैंकका विभिन्न ग्राहकको एक करोड १४ लाख ७५ हजार २ सय ८४ रुपैयाँ रकम नक्कली चेकमार्फत् झिकेर हिनामिना गरेको खुलासा भएको हो ।

यस्तै उनीहरुले बैंकिङ सिस्टम दुरुपयोग गरी ग्राहकको निष्क्रिय खातालाई सक्रिय गराई ३५ लाख ४८ हजार एकसय ५० रुपैयाँ झिकेर हिनामिना गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनीहरुमाथि जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077