काठमाडौं । कांग्रेस सांसद विमलेन्द्र निधिले एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीको भाषणले प्रतिपक्षी दलकै नेताहरू निदाएको भन्दै कटाक्ष गरेका छन् ।
प्रतिनिधिसभामा बजेटमाथिको छलफलका क्रममा मंगलबार ओलीले करिब २ घण्टा लामो भाषण गरेका थिए । त्यसपछि बोलेका निधीले ओलीले बजेट बारे बोल्दै गर्दा एमालेकै सांसद निदाएर टेबुल ठोक्न बिर्सेको भन्दै कटाक्ष गरे।
‘धेरै बेर पर्खेँ म पनि,’ओलीकाे भाषणमा टिप्पणी गर्दै उनले भने, ‘स्वयं प्रतिपक्षी दल बेन्चतिर हेरेँ । जब-जब समय बित्दै गयो । उहाँहरू निदाउन थाल्नुभएको थियो । ताली लगाउन पनि बिर्सिनुभएको थियो ।’
विषयवस्तु बुझिने गरी नभएर असान्दर्भिक विषयमा नै बोलेर ओलीले संसद्को समय खर्चिएको निधिको भनाइ थियो ।
बजेटबारे टिप्पणी गर्ने क्रममा निधिले छोटो समयमा अर्थमन्त्री डा. प्रकाशशरण महतले वास्तविक आर्थिक धरातलमा टेकेर बजेट ल्याएको टिप्पणी गरेका थिए ।