काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले नेपालमा सहकारी बैंक खोल्ने अनुमति दिन माग गरेका छन् ।
प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै सांसद निधीले सहकारी ऐनमा बैंक खोल्न दिने व्यवस्था उल्लेख भए पनि राष्ट्र बैंकले स्वीकृति नदिएको भन्दै बैंक खोल्ने स्वीकृति दिन माग गरेका हुन् ।
उनले सहकारी बैंक खोल्न न्यूनतम ५०० जना सेयर होल्डर हुनुपर्ने प्रावधान अनुरूप सहकारी विभागमा बैंक खोल्न आवेदन परेको भए पनि राष्ट्रबैंकले पूर्वस्वीकृति नदिँदा काम रोकिएको बताए ।
हाल एउटा मात्रै सहकारी बैंक रहको अवस्थामा त्यसको एकाधिकारलाई अन्त्य गरी प्रतिष्पर्धी बनाउन आवश्यक रहेको उनकाे भनाइ छ ।
निधीले सहकारीहरूको राम्रो व्यवस्थापन गर्न सके अर्थतन्त्रको तरलताको समस्या र रोजगारीको समस्या हल गर्न सकिनेमा जोड दिए ।
उनले संविधानको कार्यान्वयनका लागि कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका, राजनीतिक दल, नागरिक समाज र सञ्चार जगत् प्रतिबद्ध हुनुपर्ने भन्दै राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गरेको संविधानसम्मत भएको समेत जिकिर गरे ।