Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दुई महिनाअघि प्रेमविवाह, दुइटा सिम प्रयोग गरेपछि श्रीमतीको हत्या

तनहुँ । तनहुँको व्यास नगरपालिका–४ चिहानडाँडास्थित नालामा बोराभित्र महिला मृत फेला परेको घटनामा प्रहरीले उनैका श्रीमान्‌लाई पक्राउ गरेको छ।

प्रहरीले पत्नी रङ्गिला भुजेल हत्या आरोपमा भानु नगरपालिका–५ मैबल हटिया घर भई व्यास–४ मा डेरा गरी बस्ने २१ वर्षीय मनोज विष्टलाई पक्राउ गरेको हो।

प्रहरीले विष्टलाई मङ्गलबार राति व्यास–३ स्थित तरकारी लाइनबाट पक्राउ गरेको हो। प्रहरीले बुधबार पत्रकार सम्मेलन गरी आरोपित सार्वजनिक गरेको हो।

मृतक व्यास–१२ लामीडाँडा माइती भएकी मनोजकै श्रीमती रहेको खुलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीले जानकारी दिए। पक्राउ परेका विष्टउपर जिल्ला अदालतबाट बुधबार ५ दिनको म्याद थप गरिएको छ।

विष्टले श्रीमतीलाई डेरामै हत्या गरेर बोरामा बोकेर चिहानडाँडा नजिकको नालाको कल्भर्टमा लगेर फालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। मृतक रंगिलाले दुईवटा सिम प्रयोग गर्ने गरेको र सोही कारण श्रीमान्-श्रीमतीबीच मनमुटाव हुने गरेको अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक विष्टले बताए।

उपरीक्षक विष्टले भने, “जेठ २६ गते दिउँसो श्रीमान् श्रीमतीबीच झगडा भएको र निज मनोजले श्रीमतीको हत्या गरी बोरामा शव हालेर आफैँले बोकेर चिहानडाँडा पुगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उनी शवलाई कल्भर्टमा हालेर डेरा फर्किएका थिए।”

उनीहरूबीच सामाजिक सञ्जालमार्फत चिनजान भई गत वैशाख १ गते प्रेम विवाह भएको थियो। पक्राउ परेका विष्ट दमौलीमा मार्केटिङ व्यवसायमा आबद्ध रहेको प्रहरीले जनाएको छ। प्रहरी उपरीक्षक विष्टले भने, “शव परीक्षणको रिपोर्ट आएपछि थप केही खुल्नेछ।”

मृतकका बुबा मनबहादुर भुजेलले जेठ ३० गते बिहान छोरी हराएको भनेर कार्यालयमा फोटोसहितको हुलिया निवेदन दिएका थिए। उक्त निवेदमा भुजेलले छोरी गत जेठ २४ गतेदेखि सम्पर्कविहीन भएको उल्लेख गरेका थिए।

मनबहादुर भुजेलले पेस गरेको हुलिया मृतकको शवसँग मिल्दोजुल्दो देखिएकाले उनलाई बोलाएर मृतकको सनाखत गरिएको प्रहरी उपरीक्षक विष्टले बताए। हातमा लगाएको चुरा, कानमा लगाएको रिङ र हातखुट्टाका आधारमा मृतकका बुबाले सनाखत गरेको प्रहरी उपरीक्षक विष्टले बताए। रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077