Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • इन्सपेक्टर बढुवामा एआईजी भण्डारीको कमाउ धन्दा, गृहमन्त्रीको सुशासन कता हरायो ?

    इन्सपेक्टर बढुवामा एआईजी भण्डारीको कमाउ धन्दा, गृहमन्त्रीको सुशासन कता हरायो ?

    अनलाइन नेपाल
  • बिहिबार, ३२ जेष्ठ २०८०
  • 7K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीका ४६ जना इन्सपेक्टरहरुको डिएसपी बढुवामा ठूलो आर्थिक चलखेल भएको तथ्य बाहिर आएको छ । आर्थिक चलखेलमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको सचिवालयका सुरेशकाजी श्रेष्ठ, मावनश्रोतका एआईजी सन्दिप भण्डारीलगायतका अधिकारीहरु मुछिएका छन् । आईजीपी बसन्तबहादुर कुँवरले पनि आफ्ना आसेपासे र वरिपरिका अति कमजोर कार्यसम्पादन गरेका इन्सपेक्टरहरूलाई बढुवा गरेर रमिता देखाएका छन् ।

    यो बढुवामा कार्यक्षमताको धज्जी उडाइएको छ भने राम्रा र काविल प्रहरी अधिकृतलाई बढुवा नगरी अन्याय गरिएको छ । कारबाहीमा परेका र राम्रो कार्यक्षमता नभएका इन्सपेक्टरलाई बढुवा गरेर आईजीपी कुँवरले एआईजी भण्डारीले गरेको सिफारिसलाई सदर गरिदिएका छन् । किनकी आईजीपीले आफ्ना आसेपासेहरुलाई बढुवा गर्दा भण्डारीले त्यसको चरम फाइदा उठाएका छन् ।



    एआईजी भण्डारीमाथि सुरेशकाजी र सुसान कर्माचार्य नाम गरेकी महिलासँग मिलेर आर्थिक चलखेल गरेको आरोप लागेको छ । कर्माचार्य गृहमन्त्री श्रेष्ठको सचिवालयमा कार्यरत नरहेपनि गृहमन्त्रालयमा हैकम चलाउन सक्ने हैसियत राख्ने गृहकै एक उच्च अधिकारी बताउँछन् ।



    नक्कली शरणार्थी प्रकरणमा समेत मुछिएका आईजीपी कुँवरले प्रहरी बढुवामा अति अन्यायपूर्ण निर्णय गरेर थप बद्नामी कमाएका छन् । इन्स्पेक्टर बढुवा समितिमा प्रहरी प्रमुख कुँवर संयोजक र एआईजी भण्डारी सदस्य सचिव थिए ।

    यो पटकको इन्सपेक्टर बढुवामा लामो समयसम्म फिल्डमा काम गरेका, दुर्गम क्षेत्रमा खटिएका, लामो समयसम्म कमान्ड गर्ने अवसर नपाएकाहरू छुटेका छन् भने पैसा बुझाउनेहरु बढुवामा परेको बढुवा सूची हेर्दा नै प्रष्ट हुन्छ ।

    एआईजी भण्डारीले आफ्नो शाखामा कार्यरत वरीयता नम्बर ५ का इन्स्पेक्टर कमलराज पण्डितलाई ५ नम्बर वरीयतामै बढुवा गराएका छन् । भण्डारीले कमजोर कार्यक्षमताका वरीयता नम्बर ८ का इन्स्पेक्टर अनमोल खड्कालाई ९ नम्बर र ५२ नम्बर वरीयताका इन्स्पेक्टर निशान थापालाई एकैपटक ११ नम्बर वरीयतामा बढुवा गरी आर्थिक चलखेल गरेका छन् ।

    सधैँ शक्तिकेन्द्रको आडमा प्रहरीमा प्रभाव जमाउँदै आएकी अति विवादीत इन्स्पेक्टर चेतना पोखरेललाई २५ नम्बर वरीयताबाट एकैपटक ६ नम्बर वरीयतामा बढुवा गरेका छन् । जबकी पोखरेल बढुवा सूचीमा पर्न लायक इन्सपेक्टर नरहेको उनका कार्यसम्पादनबाट प्रष्ट देखिने हेडक्वार्टरका एक उच्च प्रहरी अधिकारी दावी गर्छन ।

    एआईजी भण्डारीले प्रहरी प्रधान कार्यालयभित्र महत्वपूर्ण शाखामा कार्यरत भोजपुर घर भएका वरीयता नम्बर ५० का इन्स्पेक्टर निरञ्जन भट्टराईलाई ३५ नम्बर वरीयतामा बढुवा गरेका छन् । त्यस्तै ओखलढुङ्गा घर भएका वरीयता नम्बर ६३ का इन्स्पेक्टर ईश्वरीप्रसाद भण्डारीलाई २१ नम्बर वरीयतामा बढुवा गरेका छन् भने सर्लाही घर भएका वरीयता नम्बर ७८ का दीपककुमार साहलाई ३७ नम्बर वरीयतामा बढुवा गरेका छन् । उनीहरुको बढुवामा ठूलो लेनदेन भएको बताइन्छ । भण्डारीले पूर्व क्षेत्रका एक जनालाई पनि बढुवाबाट बञ्चित गराएनन् ।

    भण्डारीकै जोडबलमा हाल मिसनमा रहेकी ६९ नम्बर वरीयताकी इन्स्पेक्टर एलिजा गिरी ४ नम्बर मेरिटमा बढुवा भएकी छन् । कार्यक्षमता कमजोर भए पनि ३९ देखि एकै पटक ४ नम्बरमा गिरीको नाम पर्नुलाई प्रहरी सङ्गठनमा आश्चर्यजनक रुपमा हेरिएको छ ।

    आफ्नो जिल्लाबासी भएकै कारण कार्यक्षमतामा कमजोर भएपनि इन्स्पेक्टर निशान थापा ५२ वरीयताबाट एकै पटक ११ नम्बरमा आउन सफल भएका छन् । एआईजी भण्डारीले आफ्नो साढुदाई नाता पर्ने वरीयता नम्बर १७ का इन्स्पेक्टर प्रकाश बुढाथोकीलाई १४ नम्बर वरीयतामा बढुवा गरेका छन् भने वरीयता नम्बर ८९ का इन्स्पेक्टर कमल बजगाइँ २९ नम्बर वरीयतामा बढुवा हुन सफल भएका छन् । एआईजी भण्डारीले ससुराली नाताका समेतलाई राम्रो वरीयतामा बढुवा गरेर उच्च प्रदर्शन गरेका छन् ।

    ओखलढुङ्गा घर भएका वरीयता नम्बर ६० का इन्स्पेक्टर नवराज ढुङ्गेल १६ नम्बर वरीयतामा र १२४ नम्बर वरीयताका इन्स्पेक्टर बिनोदकुमार सुनुवार २७ वरीयतामा बढुवा भएका छन् । त्यसो त भण्डारीकै जोडबलमा कार्यक्षमता कमजोर भए पनि ४३ नम्बर वरीयताका इन्स्पेक्टर खगेन्द्र धमलाले ४१ वरीयतामा बढुवा पाएका छन् ।

    त्यसैगरी एआईजी भण्डारीले वरीयता नम्बर २० का इन्स्पेक्टर रमेशकुमार श्रेष्ठलाई ७ नम्बर वरीयतामा, वरीयता नम्बर ९९ का इन्स्पेक्टर रिपेन्द्र कुमारलाई ४३ नम्बर वरीयतामा, कारबाहीमा परेका वरीयता नम्बर ११ का इन्स्पेक्टर बेदबहादुर पौडेललाई १२ नम्बर वरीयतामा, र वरीयता नम्बर १०४ का इन्स्पेक्टर प्रकाश जबेगुलाई ४२ नम्बरमा वरीयतामा र ११८ नम्बर वरीयताका सुभद्रा लामा वाइवालाई ३६ वरीयतामा बढुवा गराउन सफल भएका छन् ।

    त्यस्तै आइजीपी कुँवरले वरियता नम्बर २६ मा रहेका आफ्ना अङ्गरक्षक यामकुमार श्रेष्ठलाई सिधै ३ नम्बर वरीयतामा बढुवा गरेका छन् । २ नम्बरमा रहेका इन्स्पेक्टर रञ्जन अवालाई १ नम्बरमा बढुवा गरेर छन् भने खराब आचरण रहेतापनि जिल्लावासी अर्घाखाँचीका वरीयता नम्बर १ का इन्स्पेक्टर कमल बेल्बासेलाई २ नम्बरमा बढुवा गर्न सफल भएका छन् ।

    त्यसैगरी आईजीपी कुँवरले १११ वरीयतामा रहेका जिल्लावासी इन्स्पेक्टर शंकर पोखरेललाई पनि एकैपटक ४५ नम्बरमा बढुवा गरेका छन् । कुँवरले नै वरीयता नम्बर १२८ मा रहेका लक्ष्मी खनाललाई एकै पटक ४६ नम्बर वरीयतामा बढुवा गरेका छन् । आइजीपी कुँवरले निजी निवासमा कार्यरत वरीयता नम्बर १५ का इन्स्पेक्टर सुधीर राईलाई ८ नम्बर वरीयतामा बढुवा गरेका छन् भने आफ्नै सचिवालय मातहतको शाखामा काम गर्ने ५६ नम्बर वरीयताका इन्स्पेक्टर रामकुमार राईलाई ४४ नम्बर वरीयतामा बढुवा गराएका छन् ।

    आइजीपी कुँवरले १०३ नम्बर वरीयताका इन्स्पेक्टर मिङ्मा शेर्पालाई २५ नम्बर वरीयतामा बढुवा गरेका छन् । ९३ नम्बर वरीयतामा रहेका केशरकुमार न्यौपाने ३८ नम्बरमा आउन सफल भएका छन् ।

    आईजीपीकै जिल्लाबासी वरीयता नम्बर १११ का इन्स्पेक्टर शंकर पोखरेल र वरीयता नम्बर १२८ का इन्स्पेक्टर लक्ष्मी पाण्डे बढुवा हुँदा इमान्दार र कार्यक्षमता भएका इन्सपेक्टरहरुको शिर निहुरिएको छ ।

    यसरी आईजीपी र एआईजीले ठूलो आर्थिक चलखेल गरी बढुवा गराउँदा समेत गृहमन्त्री श्रेष्ठ भने चुप बसेका छन् । सुशासनको कुरा गरेर नथाक्ने गृहमन्त्री श्रेष्ठ सचिवालयमा कार्यरत कर्मचारीहरुका कारण चुप बसेको गृह मन्त्रालय स्रोत बताउँछ । मन्त्री श्रेष्ठको सचिवालयमा कार्यरत केही व्यक्तिहरुले यस पटकको इन्सपेक्टरबाट डीएसपी बढुवामा राम्रै चलखेल गरेका कारण गृहमन्त्री चुप बसेको बुझिएको छ ।

    सचिवालयका हर्ताकर्ता स्वकीय सचिव सुरेशकाजी श्रेष्ठ, विजय गौतम, शुसन कर्माचार्य लगायतले इन्स्पेक्टर बढुवामा आफ्ना मान्छे पार्न सफल भए । जुन लिष्टमा गोरखा घर भएका वरीयता नम्बर ५३ का इन्स्पेक्टर सुवास भट्ट १५ नम्बर वरीयतामा बढुवा भए लभने वरीयता नम्बर ४० का इन्स्पेक्टर दयाकृष्ण भट्ट २८ नम्बर वरीयतामा बढुवा भए । त्यसैगरी, वरीयता नम्बर ४१ का इन्स्पेक्टर जीवन निरौला ३४ नम्बर वरीयतामा बढुवा हुँदा लमजुङ घर भएका वरीयता नम्बर ५१ का इन्स्पेक्टर ज्ञानबहादुर खड्का २६ नम्बर वरीयतामा र ७९ नम्बर वरीयताका विकास थापा ३३ वरीयतामा बढुवा हुन सफल भएका छन् । उनीहरुलाई बढुवा गराउन सचिवालयमा कार्यरत श्रेष्ठ, गौतम र कर्माचार्य सफल भएका हुन् । त्यसैले विवादित बनेको यो बढुवामा गृहमन्त्री श्रेष्ठ चुप नै बसेका छन् ।

    अब्बल मानिएकाहरु जो छुटे
    गृहमन्त्री नारायणकाजीकै सचिवालयका केही व्यक्ति र एआईजी भण्डारीको हस्तक्षेपका कारण टप २० भित्रका १० जना इन्स्पेक्टरहरूलाई पनि बढुवा हुनबाट छुटाइएको छ । दिपक मल्ल, ऋषि राम घर्तिमगर, आयुष जेशी, धन बहादुर बोहोरा, लक्ष्मण ओली, इन्द्रजित ईटनी, प्रताप पौडेल, बोधराज रेग्मी, बीर दत्त पन्त, टेकेन्द्र शर्मा पौडेललाई छुटाइएको हो ।

    यसैगरी ४६ मेरिट भित्रका रहेका २६ जनालाई पनि बढुवा हुनबाट रोकिएको छ । ४६ मेरिट भित्र रहेका टेक बहादुर जोरा, प्रविण कार्की, रमेश दत्त अवस्थी, जनार्दन घिमिरे, गुण राज बुढाथोकी, चन्द्र कुमार सिहं, पुरुषोत्तम कार्की, हिरेन्द्र बहादुर रोकाया, भिषण राई, राजु खत्री, हिम खत्री, मधु नेपाल, मोहन बुढाथापा, चक्र डमरपाल र अनिल गिरीलाई पनि बढुवामा छुटाइएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार