काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले नेपालको लोकतन्त्र, सङ्घीयता र समावेशितामाथि कुनै पनि प्रकारको हस्तक्षेप वा छेडखानी स्वीकार्य नहुने चेतावनी दिएका छन् । उनले यस्तो प्रयास भए नेपाली जनताले सशक्त प्रतिरोध गर्ने बताएका छन्।
बिहीबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सिंहले जनकपुरधामबाट लोकतान्त्रिक व्यवस्था र सङ्घीय प्रणालीप्रति आफ्नो स्पष्ट प्रतिबद्धता व्यक्त गरेका हुन्।
‘जगत जननी सीतामाताको भूमि जनकपुरधामबाट आज फेरि भन्दैछु, नेपालको लोकतन्त्र, सङ्घीयता र समावेशितासँग कसैले छेडखानी गर्छ भने नेपाली जनताले यसको सशक्त प्रतिरोध गर्नेछन्,’ उनले लेखेका छन्।
सिंहले जनताले राजनीतिक अस्थिरता होइन, सुशासन, विकास र समृद्धिको अपेक्षा गरेको उल्लेख गर्दै आफू सधैं जनताको पक्षमा उभिने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
उनको यो अभिव्यक्ति रास्वपाको चितवनमा जारी प्रथम महाधिवेशनका क्रममा पार्टीभित्र सङ्घीय व्यवस्थाबारे बहस चर्किरहेका बेला आएको हो।
महाधिवेशनको बन्दसत्रमा सभापति रवि लामिछानेले प्रस्तुत गरेको ‘राजनीतिक प्रतिवेदन तथा प्रस्ताव’मा प्रदेश सभा र प्रदेश सरकारको पुनर्संरचनाको पक्षमा पार्टी रहेको उल्लेख गरिएको छ । त्यसैगरी उपसभापति तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको ‘अर्थ–राजनीतिक प्रस्ताव’मा पनि प्रदेश सभाको संरचनासहित समग्र सङ्घीय व्यवस्थाको पुनर्संरचना आवश्यक रहेको धारणा अघि सारिएको छ।