Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सामुदायिक विद्यालय बन्द गरे शिक्षकदेखि कर्मचारीसम्मलाई कारबाही गर्छु : मेयर बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले सामुदायिक विद्यालय बन्द गर्नेहरूलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।

सामुदायिक विद्यालयका पठनपाठन बन्द गर्ने भनी केही पत्रपत्रिकामा आएको समाचारप्रति महानगरपालिकाको ध्यानाकर्षण भएको भन्दै मेयर बालेनले यस्तो बताएका हुन् ।

नेपाल विद्यालय कर्मचारी परिषद्ले आइतबारदेखि अनिश्चितकालिन सामुदायिक विद्यालय बन्दको घोषणा गरेको छ । परिषद्ले आफूहरूको माग सम्बोधनका लागि दबाब दिने उद्देश्यका साथ बन्दसहितको आन्दोलनको घोषणा गरेको हो ।

उनले काठमाडौं महानगरपालिकाका विद्यालयहरूमा नियमित कक्षा सञ्चालन गर्न बाधा पुर्‍याउने कुनै संस्था वा कर्मचारीहरूलाई कारबाही गरिने स्पष्ट पारेका छन् ।

मेयर बालेनले काठमाडौँ महानगरपालिका, महानगरपालिकाका सम्पूर्ण सामुदायिक विद्यालय, सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरू, एवं विद्यालय व्यवस्थापन समितिलाई महानगरपालिकाका सम्पूर्ण विद्यालयहरूमा नियमित कक्षा सञ्चालन गर्न निर्देशन पनि दिएका छन् ।

विद्यालय शान्ति क्षेत्र भएको र त्यहाँ कुनै पनि दलीय राजनीतिक तथा अन्य स्वार्थका लागि बन्द, हडताल र अवरोध गर्न नपाइने कानुनी व्यवस्था रहेको उनले उल्लेख गरेका छन्।

मेयर बालेनले शिक्षक वा कर्मचारी अनुपस्थित भएमा काठमाडौं महानगरपालिका शिक्षा ऐनको दफा ४१ (क) बमोजिम शिक्षक वा कर्मचारीलाई पदबाट हटाउने चेतावनी दिएका छन्।

यस्तै विद्यालय व्यवस्थापन समितिबाट नियमित कक्षा सञ्चालनका निम्ति पहल नभएमा वा बाधा पुर्‍याएमा समिति नै विघटन गर्ने उल्लेख गरेका छन्। कुनै पनि संस्थाले बल प्रयोग गरेमा प्रहरीसँग समन्वय गरी फौजदारी मुद्दा चलाउन पहल गर्ने पनि मेयर बालेनले चेतावनी दिएका हुन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077