काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ६ महिना भित्रमा पार्टीको सबै तहमा ३३ प्रतिशत महिलाको संख्या सुनिश्चित गर्ने भएको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पत्रकार सम्मेलनमार्फत ‘राप्रपाः अब नवीन राप्रपा’ कार्ययोजना २०८० सार्वजनिक गरेका हुन् ।
अध्यक्ष लिङ्देनले पार्टीको सबै तहमा ४० वर्षसम्मका युवाहरूको अनिवार्य सहभागिताको व्यवस्था मिलाउन केन्द्रीय कार्यसमितिमा ४० तथा कार्यसम्पादन समितिमा कम्तिमा ७ जना विभिन्न प्रक्रियाबाट अनिवार्य ४० वर्षसम्मका युवाहरूको प्रतिनिधित्व गराईने बताए ।
अध्यक्ष लिङ्देनले भने,‘एकैसाथ ७५३ वटै स्थानीय तह र ६७४३ वटै वडा तथा प्रवासमा समेत यो जिम्मेवारी तोकिएको छ। यसरी भूगोलमा जिम्मेवारी प्राप्त नेताहरूले आफूलाई तोकिएको भूगोलमा ६ महिनासम्म तोकिए अनुसारको संगठन विस्तार र सुदृढिकरणका काम हुन्छ । यसले राजसंस्था, हिन्दुराष्ट्र र संघीयता सम्बन्धित पार्टीको अवधारणालाई जनसमक्ष पुर्याउन सहयोग पुग्छ ।’
अध्यक्ष लिङ्देनले आगामी दिनमा विभिन्न तहमा उम्मेद्वार बनाउँदा ५० प्रतिशत प्राइमरी छनौट प्रक्रिया अपनाइने, केन्द्र, प्रदेश, जिल्ला स्तरीय नेता तथा जनवर्गीय संगठनका प्रतिनिधिहरू समेत गरेर करिब ९ सय जना नेताहरूलाई एकैसाथ संगठन विस्तारका लागि भूगोल केन्द्रीत जिम्मेवारी प्रदान गरिएको बताए ।
राप्रपाले भ्रष्टाचार र भ्रष्टाचारका विरुद्ध पार्टीको अवधारणालाई प्राथमिकताका साथ राख्ने योजना बनाएको छ । राप्रपाले विभिन्न तहमा उम्मेदवार बनाउँदा अबदेखि ५० प्रतिशत प्राइमरी छनौट प्रक्रिया अपनाउने भएको छ। साथै राप्रपाले संगठन सुदृढीकरण पनि प्राथमिकतामा राखिएको बताएको छ।