काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आज पनि बस्दै छ । शुक्रबारबाट सुरु भएको बैठक आज पनि पुष्पलाल स्मृति प्रतिष्ठानमा बस्न लागेको हो ।
कीर्तिपुरस्थित चम्पादेवीको पुष्पलाल स्मृति प्रतिष्ठानमा भएको हिजोको बैठकमा उपाध्यक्ष राजेन्द्र पाण्डेसहित बेदुराम भुसाल, प्रमेश हमाल, घनेन्द्र बस्नेत, केशवलाल श्रेष्ठ, जयन्ती राई, रामचन्द्र झाले आफ्नो धारणा राखेको उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।
प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार बैठकमा मुलुकमा विकसित राजनीतिक घटनाक्रम, पार्टीले निर्वाह गर्नुपर्ने भूमिका, सङ्गठन सुदृढीकरण अभियानको समीक्षा तथा समसामयिक विषयमा छलफल भइरहेको छ ।
सङ्गठन सुदृढीकरण विशेष अभियानसम्बन्धी जानकारी गराइएको बैठकमा वर्तमान परिस्थिति र हाम्रा कार्यभार, आगामी कामको विस्तृत योजना, कामको उद्देश्य, प्राथमिकता, कार्ययोजना, कार्य विभाजन, पार्टीका रिक्त रहेको पदाधिकारी तथा सदस्यमा कसलाई मनोनित गर्ने भन्ने विषयमा प्रस्ताव र कमिटीका समायोजन तथा थपघटबारे छलफल पनि गरिनेछ ।
बैठकमा जनसङ्गठन युवा र विद्यार्थी, विभागका काम र व्यवस्थापन, प्रचार विभागबारे पनि छलफल हुनेछ ।