Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

आजदेखि नयाँ आर्थिक वर्ष सुरु, कार्यान्वयनमा आउँदैछन् यी कर

काठमाडौँ । आजदेखि नयाँ आर्थिक वर्ष २०८०/८१ सुरु भएको छ । नयाँ आव सुरु भएसँगै बजेटमार्फत घोषणा गरिएका नयाँ कार्यक्रम र आर्थिक नीति कार्यान्वयनमा आउँछन् ।

संवैधानिक व्यवस्था अनुसार सरकारले यस आवका लागि जेठ १५ गते नै बजेट प्रस्तुत गरिसकेको छ । चालु आवका लागि सरकारले कुल १७ खर्ब ५१ अर्ब ३१ करोड रुपियाँको बजेट सार्वजनिक गरेको हो ।

सरकारले बजेटसँगै खर्चको स्रोत बेहोर्न नयाँ करका दरसमेत सार्वजनिक गर्छ । आर्थिक ऐनमार्फत सरकारले नयाँ करका दर लागु गर्छ । भन्सारसम्बद्ध कतिपय करका दर बजेट घोषणा भएकै दिन लागु हुन्छन् भने कतिपय करका दर आर्थिक वर्ष सुरु भएको दिनदेखि कार्यान्वयनमा आउँछन् ।

चालु आवदेखि सरकारले पाँचतारे र सोभन्दा माथिका तारे होटल तथा लक्जरी रिसोर्टले प्रदान गर्ने सेवा, आयातित मदिरा, १० लाख रुपियाँभन्दा बढी मूल्यका हीरा, मोती, पत्थरजडित सुन वा बहुमूल्य धातुका गरगहनामा दुई प्रतिशतका दरले विलासिता शुल्क लागु गरेको छ ।

त्यस्तै विदेशमा पर्यटन भ्रमणका लागि जाने नेपाली पर्यटकले गर्ने भुक्तानी रकममा पाँच प्रतिशतका दरले वैदेशिक पर्यटन शुल्क पनि चालु आवदेखि लागु हुँदैछ ।

त्यस्तै आजदेखि लागु हुने गरी हवाई टिकटमा मूल्य अभिवृद्धि कर पनि लागु हुँदै छ । हवाई टिकटमा भ्याट लागेसँगै हवाई भाडा औसतमा छ प्रतिशतले बढ्ने वायु सेवा सञ्चालक सङ्घले जनाएको छ । गोरखापत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077