काठमाडौं । हाल मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित छ ।
जसको प्रभावले गण्डकी र बागमती प्रदेशका धेरै तथा बाँकी प्रदेशहरूका केही भू-भागहरूमा हल्का देखी मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा गण्डकी, लुम्बिनी, बागमती र कोशी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा र मधेस प्रदेशका एक वा दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदूरपश्चिम तथा गण्डकी प्रदेशका एक-दुई स्थानहरूमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
आज राति भने देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। भारी वर्षा तथा हावाहुरी, चट्याङ, गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयका कारण हुनसक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।