काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले एक क्विन्टल सुन तस्करी प्रकरणका दोषीलाई छिट्टै कानुनको दायरामा ल्याउनेगरी अनुसन्धानको कामलाई अघि बढाइएको बताएका छन् ।
बिहीबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा सुरक्षा निकायका पूर्वउच्च अधिकारीहरूसँगको छलफल पछि गृहमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।
उनले सुन तस्करी प्रकरण अनुसन्धान स्वतन्त्र, निष्पक्ष र निष्कर्षमा पुग्ने गरी हुने स्पष्ट पारे । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र आफूले दोषीलाई कारबाहीको दायरामा ल्याउन र निर्दोष नफसून भनेर यस अघि नै सम्बन्धित निकायलाई निर्देशन दिइसकेको उनले बताए ।
उनले अध्यागमन विभागमा प्रहरीको उपस्थितिलाई सुनिश्चित गर्ने विषयमा आफूले यस अघि पनि छलफल गरेको उनको भनाई छ ।