काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी विधानअनुसार चल्न सके आगामी दिनमा आउने चुनौती सामना गर्न सक्ने बताएका छन् ।
शुक्रबारको केन्द्रीय समिति बैठकमा बोल्दै नेता सिंहले पार्टीले निर्णय गर्दा प्रजातान्त्रिक प्रक्रिया पूरा गरेर जनताको विश्वास जित्ने विषयमा पार्टीको ध्यान पुग्नुपर्ने बताएका हुन् ।
उनले भने ‘राम्रो पर्फर्मेन्स गर्ने, जनता र कार्यकर्तालाई चित्त बुझ्ने अवस्थामा पुर्याउने हो भने पार्टीलाई विधानअनुसार चलाउनुपर्छ ।’ कांग्रेस बैठकले जनतालाई के दिने ? भन्ने बारे पनि बैठकले बोल्नुपर्ने उनको भनाइ थियो ।
उनले पार्टीमा समस्या भयो भनेर मात्र नहुने भन्दै अब विधानले निर्देशित गरेका सबै काम गरेर अघि बढे समस्या समाधान हुने पनि उल्लेख गरे ।
त्यस्तै उनले पार्टीबाट बनेका जनप्रतिनिधि र पार्टी संरचनाबीचको समन्वयमा पनि जोड दिए ।