काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कार्यकर्तालाई नयाँ ऊर्जाका साथ फिल्डमा खटिन सबैलाई अपिल गरेका छन् ।
शनिबार काठमाडौं महानगर सम्मेलनको उदघाटन गर्दै नेता सिंहले यस्तो आग्रह गरेका हुन् । नेता सिंहले कांग्रेसले पार्टीभित्र संगठनलाई चलायमान बनाउन प्रशिक्षणमा जोड दिनुपर्ने बताए ।
उनले पार्टी जीवनमा कार्यकर्ताले परिवर्तनको अनुभूति गर्ने गरी प्रशिक्षण लगायतका कार्यक्रम सन्चालन गर्नुपर्ने बताए । नेता सिंहले संगठन बलियो भएमात्र पार्टी बलियो हुने बताए ।
स्थानीय सरकारका जनप्रतिनिधि र स्थानीय पार्टी कमिटीहरू बीच सहकार्य अझै प्रभावकारी देखिनु पर्नेमा नेता सिंहको भनाई छ ।
क्रियाशील सदस्यताको महत्त्व केहो भन्ने कुरालाई ध्यान दिन जरुरी रहेको भन्दै उनले पार्टीलाई आवश्यकता पर्दा कहीँ नदेखिने तर पार्टी अधिवेशनमा कसैलाई जिताउन मात्रै देखिने गर्दा समस्या भएको बताए ।