काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले सुन तस्करी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठमाथि पनि छानबिन हुनुपर्ने बताएका छन्।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको तीन दलका शीर्षनेताहरूको बैठकपछि बोल्दै सचेतक बर्तौलाले यस्तो बताएका हुन् ।
सचेतक बर्तौलाले सुन तस्करीबारे पहिले नै सूचना पाउँदा पनि गृहमन्त्री नारायणकाजी श्रेष्ठ मुकदर्शक भएर बसेको आरोप लगाए।
सचेतक बर्तौलाले भने, 'राजश्व अनुसन्धान विभागले सुन तस्करी हुँदैछ भनेर पहिले नै प्रधानमन्त्री पुष्पकमल दाहाललाई सूचना आएको थियो भनेको छ। प्रधानमन्त्रीलाई सूचना आउँदा गृहमन्त्रीलाई थाहा हुन्छ कि हुँदैन? अर्थमन्त्रीलाई थाहा हुन्छ कि हुँदैन? यसकारण गृहमन्त्रीमाथि छानबिन हुनुपर्छ। '
सचेतक बर्तौलाले सुन तस्करी प्रकरणमा गृहमन्त्रीको जवाफ आएपछि मात्रै संसद अघि बढ्न दिने बताए। उनले हरेक काण्डमा सरकारका पूर्वमन्त्रीदेखि सत्ता पक्षका नेताहरूको संलग्नता हुने गरेको आरोप लगाए।
सुन काण्डको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति नबनेसम्म सरकारको विरोध गरिरहने बताए। तीन दलको शीर्ष नेताको बैठकमा प्रमुख प्रतिपक्षको एजेण्डामा कुनै सहमति नजुटेको उनको भनाइ छ।