Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • ९ वटा संसदीय समितिको सभापति सर्वसम्मत, उद्योगमा खान र पराजुलीबीच प्रतिस्पर्धा

    ९ वटा संसदीय समितिको सभापति सर्वसम्मत, उद्योगमा खान र पराजुलीबीच प्रतिस्पर्धा

    अनलाइन नेपाल
  • आइतबार, १० भाद्र २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । प्रतिनिधिसभाका ९ वटा विषयगत समितिका सभापति सर्वसम्मत चुनिने भएका छन् । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा भने दुई जनाको उम्मेदवारी परेको छ । प्रतिनिधिसभाको १० वटा विषयगत समितिको सभापति चयनका लागि भोलि सोमबार निर्वाचन राखिएको छ ।

    राष्ट्रिय स्वतन्त्र पार्टी बाहेकका दलहरूबीच सभापतिमा भागवण्डा भएकाले त्यसअनुसार नै उम्मेदवारी परेको छ । त्र, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा भने जनमत पार्टीका अब्दुल खान र राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीको उम्मेदवारी परेपछि निर्वाचन हुने भएको हो ।



    सत्तारुढ गठबन्धन र एमालेबीचको भागवण्डामा यो समिति जनमतले पाए पनि रवि लामिछाने अध्यक्ष रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो उम्मेदवारी फिर्ता नलिएपछि निर्वाचन हुने भएको हो । भागवण्डामा नपरेको रास्वपाले अरू समितिमा उम्मेदवार बनाउन सक्ने अवस्था थिएन । त्यसैले यो समितिमा उसले आफ्नो दावी छाडेन ।



    सभापतिमा उम्मेदवार बन्न एक जना प्रस्तावक र एक जना समर्थक आवश्यक हुन्छ। तर, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बाहेक अन्य समितिमा रास्वपाका दुई सांसद मात्र छन् । तीन सांसद थिए रहेको यो समितिमा रास्वपाका पराजुली उम्मेदवार बन्दा उपसभापति डिपी अर्याल प्रस्तावक र असिम शाह समर्थक छन् ।

    सार्वजनिक लेखा समिति सभापतिमा नेकपा एमालेका ऋषिकेश पोखरेल र महिला बालबालिका तथा सामाजिक समितिको सभापतिमा एमालेकै किरण साहको मात्रै उम्मेदवारी परेको छ ।

    नेपाली कांग्रेसबाट आरजु राणा देउवाले कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, रामहरि खतिवडाले राज्य व्यवस्था तथा सुशासन समिति र सन्तोष चालिसेले अर्थ समितिको सभापतिमा उम्मेदवारी दिएका छन् ।

    कानुन, न्याय तथा मानव अधिकार समितिको सभापतिमा माओवादी केन्द्रकी विमला सुवेदीको मात्र उम्मेदवारी परेको छ । दलहरुबीच सहमतिमा माओवादीको भागमा परेको पूर्वाधार विकास समितिको सभापतिमा राप्रपाका दीपकबहादुर सिंहले उम्मेदवारी दिएका छन् । आइतबार अन्तिम समयमा माओवादी र राप्रपाको सहमतिमा सिंह उम्मेदवार भएकाले अरुले उम्मेदवारी दिएका छैनन् ।

    अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा जनता समाजवादी पार्टीका राजकिशोर यादवको मात्र उम्मेदवारी परेको छ भने स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा एकीकृत समाजवादीका भानुभक्त जोशीले मात्र उम्मेदवारी दर्ता गराएका छन् ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार