काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले सुन तस्करीको विषयमा समितिमा छलफल गर्ने बताएका छन् ।
राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा कांग्रेस सांसद खतिवडा निर्विरोध निर्वाचित भएपछि उनले यस्तो बताएका हुन् । उनले समितिमा पक्ष विपक्ष र बहुमत अल्ममत नहेरी सबैको सल्लाहबाट निर्णय गर्ने पनि बताए ।
सभापति खतिवडाले भने,‘यो समितिमा पनि अव हामी सबैको, पार्टीको भन्दा पनि सबैको बनाएर लिएर जान चाहन्छौं । म काँग्रेसबाट निर्वाचित भएपनि । यो समिति पक्ष, विपक्ष नगरीकन सबैको पक्ष बनाएर हामी यसलाई अहिलेको समसामयिक विषयमा सबैसँग सल्लाह गरेर निर्णय गर्ने परम्पराको विकास गर्छौं । मेरो होइन, हाम्रो भन्ने परम्पराको विकास गरेर अगाडि बढ्छ । यो समितिमा बहुमत, अल्पमतबाट निर्णय गर्ने भन्दा पनि सबैको सल्लाहबाट नै निर्णय गर्ने पक्षमा छौं ।’
सत्तापक्ष र प्रतिपक्ष सबै दलको साथ पाएर समितिको सभापतिमा निर्विरोध निर्वाचित हभएका खतिवडाले सुन तस्करी प्रकरणलगायतका सबै विषयमा समितिमा छलफल हुने बताए ।
उनले सबै पक्षलाई मिलाएर समितिले निर्णय गर्ने परम्पराको विकास गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
नवनिर्वाचित सभापति खतिवडाले राज्य व्यवस्था तथा सुशासन समिति संवेदनशील समिति पनि भएकाले आफूहरुले सोही अनुसारको कार्ययोजना बनाएर अघि बढ्ने समेत बताए ।