Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

पहिला ठूलो हल्लीखल्ली गरेर ७७५ वटा बिवाईडी गाडी बरामद, अहिले कैफियत भेटिएन भन्दै छाडियो

पहिला ठूलो हल्लीखल्ली गरेर ७७५ वटा बिवाईडी गाडी बरामद, अहिले कैफियत भेटिएन भन्दै छाडियो

मंगलवार , आषाढ २, २०८३

मुस्ताङ । प्रधानमन्त्री कार्यालय र अर्थ मन्त्रालयबीचको नीतिगत समन्वय तथा छानबिन समितिको प्रतिवेदनपछि मुस्ताङका विभिन्न नाकामा सशस्त्र प्रहरीको नियन्त्रणमा रहेका बीवाईडी कम्पनीका ७७५ वटा विद्युतीय सवारी साधन फुकुवा गरिएको छ।

सशस्त्र प्रहरी बल नेपाल ३३ नम्बर गुल्म जोमसोमका अनुसार आइतबार साँझदेखि नियन्त्रणमा रहेका सवारी साधन सम्बन्धित पक्षलाई जिम्मा लगाउने प्रक्रिया सुरु गरिएको हो।

यसअघि अर्थ मन्त्रालयले ती सवारी साधनको आयात प्रक्रियामा कुनै कैफियत नरहेको स्पष्ट गरे पनि प्रधानमन्त्री कार्यालयको निर्देशनपछि सुरक्षाकर्मी परिचालन गरी सवारी साधन रोकिएको थियो। पछिल्ला दिनमा सरकारले गठन गरेको छानबिन समितिले स्थलगत अध्ययनपछि सबै प्रक्रिया कानुनसम्मत रहेको निष्कर्ष निकालेपछि रोकिएका सवारी साधन फुकुवा गरिएको हो ।

गत जेठको दोस्रो र तेस्रो हप्तामा मुस्ताङको उत्तरी कोरलानाका हुँदै बीवाईडी कम्पनीका ७७५ वटा विद्युतीय सवारी साधन नेपाल भित्रिएका थिए। तीमध्ये मुस्ताङ भन्सार कार्यालय नेचुङले ६४९ वटा सवारी साधनको भन्सार जाँचपास गरिसकेको थियो।
आयात प्रक्रियामा अनियमितता हुनसक्ने आशंकामा सशस्त्र प्रहरीले कास्की, पर्वत र मुस्ताङका विभिन्न स्थानमा ती सवारी साधन नियन्त्रणमा लिएको थियो।

अर्थ मन्त्रालयले भन्सार विभागअन्तर्गत मूल्याङ्कन शाखा प्रमुख निर्देशक भुपालराज शाक्यको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो। समितिले जेठ २१ गते कास्की, पर्वत तथा मुस्ताङका कोरला र जोमसोम क्षेत्रमा पुगेर स्थलगत अध्ययन गरेको थियो।

समितिको प्रतिवेदनमा नेपाल भित्रिएका विद्युतीय सवारी साधनमा कुनै पनि प्रकारको कैफियत नदेखिएको निष्कर्ष निकालिएको थियो। सशस्त्र प्रहरीका अनुसार कास्कीको हेमजामा रोकिएका ९८ र पर्वतको कुश्मामा राखिएका १७ सवारी साधन यसअघि नै सम्बन्धित पक्षलाई बुझाइसकिएको थियो।

त्यसैगरी कोरलानाकाबाट लोमान्थाङ हुँदै जोमसोम ल्याइएका २६६ र कोरलानाकामै रोकिएका ३९४ सवारी साधनमध्ये अधिकांश फुकुवा भइसकेका छन्।

जोमसोम बसपार्कमा रहेका २६६ सवारी साधनमध्ये आइतबार र सोमबार गरी २२३ वटा गन्तव्यतर्फ पठाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक भेषराज गिरीले जानकारी दिए। हाल बसपार्कमा ४३ वटा मात्र सवारी साधन बाँकी रहेका छन्।

भन्सार जाँचपास नभएका केही सवारी साधनको पनि आवश्यक प्रक्रिया पूरा गरी क्रमशः गन्तव्यतर्फ पठाउने काम भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077