Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कोरला नाकाबाट भन्सारकै सेटिङमा  तस्करी, ९ वटा कन्टेनर राजस्वले बरामद गरेपछि रहस्य खुल्यो

कोरला नाकाबाट भन्सारकै सेटिङमा  तस्करी, ९ वटा कन्टेनर राजस्वले बरामद गरेपछि रहस्य खुल्यो

बुधवार , माघ २८, २०८२

काठमाडौं । मुस्ताङको कोरला नाकाबाट आयात हुने सामान चेकजाँच नै नगरी भन्सार प्रशासनले छाड्ने गरेको गुनासोपछि राजस्व अनुसन्धान बिभागले ९ वटा ट्रक बरामद गरेको छ ।

मुस्ताङ भन्सार कार्यालयका कर्मचारीहरुले सामान चेक जाँच नै नगरी सामान लोड भएका गाडी छाड्ने गरेको धेरै गुनासो आएपछि शुक्रबार ९ वटा ट्रक बरामद गरिएको राजस्ज अनुसन्धान बिभागका महानिर्देशक तीर्थराज चिलुवालले बताए ।  

२०८२ माघ २३ गते राजस्व अनुसन्धान बिभागले मुस्ताङकै नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग समन्वय गरी ९ वटा मालबाहक कन्टेनर बरामद गरेको चिलुवालले जानकारी दिए ।

मुस्ताङ भन्सार कार्यालयका प्रमुख रमेश खड्काले आफूनिकट ब्यापारीहरुले आयात गरेका ब्रान्डेड कपडा, जुत्ता लगायतका सामान विनाचेकजाँच छाड्दै आएको आरोप छ । 

मुस्ताङ भन्सार कार्यालयका प्रमुख रमेश खड्कासँग सेटिङ गरी केही ब्यापारीहरुले ब्रान्डेड सामान कम भन्सार तिरेर भित्र्याउने गरेको आरोप छ ।

मुस्ताङ भन्सारलाई प्रमुख खड्काले सेटिङमा चलाएका छन् । प्रतिकन्टेनर दररेट तोकेरै उनले चेकजाँच नै नगरी छाड्ने गरेका छन् । 

कोरलामा हिउँ पर्ने भएकाले भन्सारका कर्मचारीहरु जोमसोममा बस्ने गरेका छन् । हरेक दिन बिहान भन्सार कार्यालयका कर्मचारीहरु जोमसोमबाट कोरला जाने गर्दछन् ।

तर ब्यापारीहरुसँग सेटिङ गरी सामान चेकजाँच नै नगरी छाड्ने गरेको स्रोत बताउँछ । दैनिक १५ वटासम्म कन्टेनरमा ब्रान्डेड सामानमात्र होइन, कोरला नाकाबाट भन्सार प्रमुख खड्कासँग सेटिङ मिलाएर भेपसमेत तस्करी हुने गरेको छ ।

मुस्ताङ भन्सारबाट दिपेश चालिसेको समूहले भेप तस्करी गर्दैआएको छ । रसुवा र तातोपानी भन्सारबाट विगतमा पनि चालिसेको समूहले भेप तस्करी गर्दै आएको थियो ।

पछिल्लो समय चालिसेले कोरला नाकाबाट भेप तस्करी गर्दै नेपालगंज, नवलपरासी र भैरहवाबाट भारततर्फ लाने गरेका छन् ।

एक महिनाअघि कोरला नाकाबाट पास भएको २ करोड ४५ लाख रुपैयाँबराबरको इलेक्ट्रिक सिगरेट (भेप) समेत बरामद भएको थियो । 

राजस्व अनुसन्धान बिभागको कार्यालय पोखरामा नभएकाले भन्सारमा सेटिङ गरी विनाचेकजाँच छोडिएका ट्रक निर्वाध पोखरा र काठमाडौं लगायतका स्थानमा पुर्याउन सकिने भएकाले ब्यापारीहरुले पछिल्ला दिनमा यो नाकाबाट सामान आयात गर्ने गरेका छन् । 

ब्यापारीहरु गएको भदौ अन्तिमदेखि कोरला नाकाबाट सामान आयात गर्न थालेका छन् । केरुङबाट रसुवा हुँदै ५० हजार लागतमा एउटा कन्टेनर काठमाडौंसम्म आइपुग्छ ।

तर केरुङबाट कोरला हुँदै काठमाडौंसम्म एक कन्टेनरको ढुवानीसहितको लागत ३ लाखभन्दा बढी पर्न जान्छ । रसुवाबाट ५० हजारमा ल्याउन सकिने सामान ब्यापारीहरु ३ लाख तिरेर मुस्ताङबाट सामान आयात गर्न जानुले पनि मुस्ताङबाट तस्करी हुने गरेको कुरालाई पुष्टि गर्दछ । 

रसुवा भन्सार कार्यालयका भन्सार प्रमुख तुलसी भट्टराईले नाकामा चेकजाँच कडाइ गरेपछि तस्करी गर्न नपाएका ब्यापारीहरु मुस्ताङ नाकाबाट सामान आयात गर्न थालेका हुन् ।

राजस्व अनुसन्धान बिभागका महानिर्देशक चिलुवालले ९ वटा कन्टेनर बरामद गरी भन्सार छली गरे नगरेको, प्रज्ञापनपत्र अनुसार सामान भए नभएको र चेकजाँच गरे नगरेको अनुसन्धान गरिने प्रतिक्रिया दिए ।

उनले भने–कन्टेनर चेक गरेपछि थाहा हुन्छ, चेक जाँच गरेको छ कि छैन । एक दुई दिनमा सबै हेर्छौं। राजस्वले कोरला नाकाबाट चेकजाँच नै नगरी सामान लोड भएका कन्टेनर छाडिएको सूचनापछि ९ वटा ट्रक बरामद गरेकोबारेमा मुस्ताङ भन्सार कार्यालयका प्रमुख रमेश खड्काले समातेको हो कि होइन जानकारी नभएको अनलाइन नेपालसँग बताए ।

समातेको कुरा त महानिर्देशक चिलुवालले नै भनिसक्नुभयो नि भन्ने भन्ने जिज्ञासापछि उनले भने–‘केही नभेटिएपछि छाडिसकेको कुरा आएको छ ।’

राजस्वले हेरेकै छैन, एक दुई दिनमा हेर्छ भन्ने महानिर्देशक चिलुवालले भनिरहनुभएको छ, तपाई छाडिसक्यो भन्नुहुन्छ, कसको विश्वास गर्ने भन्ने प्रश्नमा उनले भने–‘हामीले त चेक गरेर पठाएको हो, खै के भयो थाहा भएन ।’

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077