Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

सुन तस्करी प्रकरणमा प्रदेश मन्त्री र कांग्रेसका नेता मुछिए, अनुसन्धान गर्दै प्रहरी

काठमाडौं । नेपाली कांग्रेसका जिल्ला नेता र प्रदेश मन्त्री करीब १ किलो सुन तस्करी प्रकरणमा मुछिएका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंले त्रिभुवन विमानस्थलबाट सोमवार ९६० ग्राम सुन बरामद गरेको थियो । सो सुनको व्यवस्थापक काभ्रे प्रतिनिधिसभा– १ प्रदेश सभा (क) बाट समानुपातिक सांसदका लागि सिफारिश समेत भएका कांग्रेस जिल्ला नेता विकास लामा भन्ने विकास योञ्जन रहेको खुलेको हो ।

उनी कांग्रेसको युवा संगठन तरुण दलका नेतासमेत हुन् । विशेष सूचनाका आधारमा मलद्वारमा लुकाएर दुबईबाट हिमालयन एयरलाइन्समार्फत मंगलबार बिहान साढे ९ बजे ल्याएको सुनसहित प्रहरीले काभ्रेको खानीखोला गाउँपालिका–३ का बाबुलाल दोङलाई पक्राउ गरेको थियो ।

सुनका भरिया दोङलाई पच्छ्याउँदै जाँदा सुन लिन आउने काभ्रेको रोशी गाउँपालिका–३, घट्टेखोलाका जगत लामा र महाभारत गाउँपालिका–३, सानोपोखरा घर भई बनेपा बस्दै आएका दोर्जे स्याङ्तान पक्राउ परेका थिए ।

उनीहरुको बयानबाट यसमा काभ्रेका नेता लामाको संलग्नता खुलेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार सुन प्रकरणमा मुछिएका लामाको खोजी भइरहेको छ । यस्तै लामाकै नामको सवारी साधन प्रयोग भएर सुन तस्करी गरिएको पाइएको छ ।

विकासले छाडेर भागेको बागमती प्रदेश ००१ २७ च ९९६० नम्बरको क्रेटा गाडी समेत प्रहरीले बरामद गरेको थियो । प्रहरीका अनुसार उक्त गाडीबाट कांग्रेस सांसद एवं बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिञ्चाइ मन्त्री तीर्थ लामाले विकास योञ्जनका नाममा काटेको ६ लाखको चेक समेत फेला परेको थियो ।

दुबईबाट सुन ल्याउने कामको व्यवस्थापन विकास र लगानी मन्त्री तीर्थबहादुरले गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरी स्रोतको भनाइ छ ।

सुन तस्करीमा नेपाली कांग्रेसका जिल्ला नेताको सवारी साधन प्रयोग भएपछि राजनीतिक पहुँचका आधारमा सुन तस्करी गरिएको दाबी गरिएको छ । यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077