Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ठगी गर्ने गिरोहले डीएसपीलाई पनि छाडेन, एक हप्ताको अवधिमा १३ लाख गुम्यो

काठमाडौं । सशस्त्र प्रहरीका बहालवाला एक डीएसपी हतारिँदै उपत्यका अपराध अनुसन्धान कार्यालय पुगिन्। केही दिनअघि अपराध महाशाखा पुगेकी उनले अन्जान नम्बरसँग ह्वाट्सएपमा कुरा गर्दा एक हप्ताको अवधिमा १३ लाख गुमाइन्। उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रविन्द्र रेग्मीका अनुसार अनलाइन ठगी गर्ने गिरोहको प्रलोभनमा पर्दा उनले उक्त रकम गुमाएकी हुन्।

प्रहरीका अनुसार अपरिचित नम्बरबाट आएको ह्वाट्सएप म्यासेजमा उनले कुराकानी गर्ने गरेकी थिइन्। कुराकानी बढ्दै जाँदा ती व्यक्तिले आफू युद्धमा जान लागेको आर्मी भनेर चिनाएका थिए। युद्धका क्रममा परिवार गुमाएको र आफ्नो एउटा खुट्टा पनि गुमाएको जानकारी ती डीएसपीलाई दिएका थिए।

निरन्तरको कुराकानी र फोटो भिडियो आदानप्रदान भइसके पछि ति व्यक्तिले बिमावापत आफूलाई निकै पैसा आएको बताएका थिए। उक्त पैसा नेपालकी साथी बनेकी उनै डीएसपीलाई पठाउन लागेको उनले बताए। पैसा कुरियर गरेको फोटो पनि पठाए। त्यसको केही दिनपछि सशस्त्रकी डीएसपीलाई भन्सारबाट गरेको भन्दै एउटा फोन आएको थियो।

भन्सारबाट फोन गर्ने व्यक्तिले उनको सामान छुटाउनका लागि पैसा लाग्ने भन्दै पैसा पठाउन आग्रह गरे। कोशेलीस्वरुप विदेशबाट पैसा आएको भन्दै ढुक्क भएकी ती डीएसपीले भन्सार एजेन्टले भनेको अकाउन्टमा पैसा पठाइदिइन्। पैसा पाएपछि फोन गर्ने व्यक्ति र ह्वाट्सएपमा कुराकानी गर्ने व्यक्ति हराए।

प्रवक्ता रेग्मी भन्छन्, ‘ठगी गर्ने व्यक्तिको खोजी भइरहेको छ। ठगीमा विदेशी नागरिक संलग्न भए पनि उसले प्रयोग गरेको खाता भने नेपाली व्यक्तिको थियो। खाता भएका एक चौधरी थरका व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ।’ अन्नपूर्ण पोस्टबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077