काठमाडौं । सुन तस्करी प्रकरण छानबिनका लागि सरकारले गठन गरेको उच्चस्तरीय जाँचबुझ आयोगले काम थालेको छ ।
आज सिंहदरबारमा पत्रकार सम्मेलन गरेर आयोगका अध्यक्ष डिल्लीराज आचार्यले कार्य प्रारम्भ भएको जानकारी गराएका हुन् ।
आचार्यले आयोग गठन गरी जिम्मेवारी दिएकोमा मन्त्रिपरिषद्लाई धन्यवाद ज्ञापन गर्दै कार्यादेश अनुसारको कार्य सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे ।
आचार्यले आयोगको कार्यक्षेत्रसँग सम्बन्धित ७ विषयमा तथ्यगत जानकारी एवं सुझाव प्राप्तिका लागि कार्तिक १६ गते भित्रको समयसीमा निर्धारण गरी सञ्चारका विभिन्न माध्यमहरूबाट सार्वजनिक सूचना प्रकाशन गर्ने निर्णय भएको बताए ।
विदेशबाट इलेकट्रोनिक सिगरेट भेपमा सुन राखी अवैध तस्करी गरिएको र साउन २ गते ब्रेकशुमा सुन राखी अवैध तस्करी गरिएको लगायतका पटक पटक भइरहेको सुन तस्करीजन्य कसुरको प्रकृति तथा यसबाट पर्ने बहुपक्षीय असरका सम्बन्धमा सुझाव एवम् जानकारी दिइनेछ ।
सुनको अवैध पैठारीका सम्बन्धी अपराधको पूर्ण नियन्त्रण गर्न मौजुदा कानुनमा गर्नुपर्ने परिमार्जन र संरचनात्मक सुधारका सम्बन्धमा, यसअघि पटक पटक भएका सुन तस्करी सम्बन्धी छानबिन तथा अध्ययन प्रतिवेदनका अन्तरवस्तु निष्कर्ष तथा त्यसको प्रभावका सम्बन्धमा पनि आवश्यक तथ्यगत जानकारी र सूचना लिइनेछ ।
गत आइतबार बसेको मन्त्रिपरिषद् बैठकल सुन तस्करी नियन्त्रणका लागि सुझाव सहितको प्रतिवेदन पेश गर्न जाँचबुझ आयोग ऐन २०२६ को दफा ३ उपदफा २ बमोजिम उच्च अदालतका पूर्व न्यायाधीशसमेत रहेका आचार्यको अध्यक्षतामा आयोग गठन गर्ने निर्णय गरेको थियो ।
आयोगको सदस्यमा पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल बहादुर थापा, पूर्व सहसचिव किशोरजंग कार्की र पूर्व सहसचिव प्रेमराज जोशी रहेका छन् ।