काठमाडौं । नेपाललाई मुख्य ट्रान्जिट बनाएर विभिन्न मुलुकमा अवैध सुन कारोबार गर्ने तस्करहरूको छानबिन र कारबाहीका लागी सरकारले गठन गरेको उच्चस्तरीय जाँचबुझ आयोग गुमनाम बनेको छ ।
उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा गत असोज १२ मा गठन भएको आयोगले अहिले के गर्दै छ भन्ने आम रूपमा अन्यौलता छाएको हो । ६१ किलो सुन तस्करीका मुख्य नाइके तथा योजनकार पत्ता लगाउन प्रहरीको केन्द्रीय अनुसन्धाज ब्युरो (सीआईबी) असफल भएको थियो ।
सीआईबीले तस्करीको सुन चाँजोपाँजो मिलाउने केही व्यक्ति र भरियाहरूलाई मात्रै छानबिन गरी मुद्दा दायर गरेको थियो । मुख्य योजनाकार फुत्किन सक्ने भन्दै सत्तारुढ र प्रमुख प्रतिपक्षी दलको सहमतिमा सुन तस्करीको बृहत् जालो पत्ता लगाउने उद्देश्यसहित आयोग गठन भएको थियो ।
जाँचबुझ आयोग ऐन, २०२६ अनुसार बनेको उक्त आयोगलाई सुन प्रकरणको घटनामा आवश्यक अनुसन्धान गरी ६ महिनाभित्र प्रतिवेदन बुझाउन सरकारले कार्यादेश दिएको छ । तर, आयोग गठनको दुई हप्ता बितिसक्दासमेत आयोगले कुनै काम गर्न थालेको छैन । सुनतस्करीको मुख्य जालो र मुख्य नाइके पत्ता लगाउने जिम्मेवारी पाएको आयोग आफै अलमलमा परेपछि आशंका सिर्जना भएको छ ।
आचार्य नेतृत्वको समितिमा पूर्व सहसचिवहरू किशोरजंग कार्की, प्रेमराज जोशी र पूर्वअतिरिक्त महानिरीक्षक सहकुल थापा सदस्य रहेका छन् । उक्त आयोगले के कसरी काम शुरू गर्ने भन्ने आफैंमा अन्योलतासमेत छाएको छ । नेपाल समाचारपत्र दैनिकबाट