कञ्चनपुर । दोधारा चाँदनी नगरपालिकामा सहकारीमा चोरी गरेको आरोपमा प्रहरीले दुईजना युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बझाङको जयपृथ्वी नगरपालिका–१ का ३६ वर्षीय अजयसिंह ठकुरी भनिने अमृत सार्की र भीमदत्त नगरपालिका– १२ ऐरीका २३ वर्षीय विशाल भनिने सुन्दर टमाटा रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार चाँदनी कृषि सहकारी संस्थाबाट २२ कार्तिकको राति साढे पाँच लाख बढी रकम चोरी भएको थियो । सहकारीका पदाधिकारीले ५ लाख ५१ हजार ७१८ रुपैयाँ चोरी भएको भनेर प्रहरीमा जाहेरी दिएको थियो ।
प्रहरीले चोरी घटनाको अनुसन्धान गरेर घटनामा संलग्न ती दुई युवकलाई नगद रकमसहित भीमदत्त नगरपालिका–४ महेन्द्रनगर बजारबाट समातेको हो ।
उनीहरुको साथबाट २ लाख ३८ हजार ८० रुपैयाँ र तीन थान मोबाइल बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ ।