Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

१७ मिडिया हाउसलाई प्रेस काउन्सिलले सोध्यो स्पष्टीकरण

काठमाडौं । सञ्चारमाध्यमको आवरणमा सर्वसाधारणलाई त्रसित र आतंकित गर्ने सामग्री सम्प्रेषण गरेको भन्दै प्रेस काउन्सिल नेपालले युट्युबसहितका १७ वटा मिडियालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ।

विभिन्न सामाजिक अभियन्ताको प्रदर्शनीको विषयलाई लिएर प्रायोजित एवं जनमानसलाई उत्तेजित, त्रसित पार्ने भाषाशैलीमा हिंसा, आतङ्कलाई प्रश्रय पुग्ने सामग्री सम्प्रेषण गरेको भन्दै आचारसंहिताबमोजिम कारबाही गरेको काउन्सिलले जनाएको हो।

काउन्सिलद्वारा जारी विज्ञप्तिमा दर्ता सूचीकरण भएका सञ्चार माध्यमअन्तर्गत सामाजिक सञ्जालबाट अवाञ्छित सामग्री सम्प्रेषण भएको हकमा २४ घण्टाभित्र स्पष्टीकरण दिन भनिएको छ।

यस्तै काउन्सिलले कुनै मिडियाअन्तर्गत आबद्ध नभएका र आचारसंहिताविपरीत सामग्री सम्प्रेषण गरेका सञ्चारमाध्यम (युट्युब च्यानल)लाई त्यस्ता सामग्री हटाइ काउन्सिलमा जानकारी गराउन निर्देशन दिनुका साथै थप अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरी (साइबर ब्युरो)मा पत्राचार गरेको छ।

विज्ञप्तिमा भनिएको छ,‘आचारसंहिताविपरीत अफवाह फैलाउने, द्वन्द्व बढाउने, अश्लिल सामग्री सम्प्रेषण गर्ने, घृणास्पद अभिव्यक्तिलगायत भ्रमपूर्ण सामग्री सम्प्रेषण गर्ने सामाजिक सञ्जाललाई त्यस्ता सामग्री हटाइ काउन्सिलमा जानकारी गराउन निर्देशन दिनुका साथै थप अनुसन्धान गरी कारबाही गर्न ब्युरोमा पत्राचार गरिएको छ।’

काउन्सिलले सर्वसाधारणलाई त्रसित एवं उत्तेजित बनाउने शीर्षक दिइ अफवाह फैलाउने, अवाञ्छित गतिविधिलाई प्रश्रय दिने, हिंसा, त्रासलाई प्रश्रय पुग्ने सामग्री सम्प्रेषण गर्ने र त्यस्ता सामग्रीलाई अप्राकृतिकरूपमा दर्शक बढाउने उद्देश्यले अतिरञ्जित ढङ्गले चरित्रहत्या गर्ने किसिमबाट सामग्री सम्प्रेषण भएकाप्रति ध्यानाकर्षण भएको जनाएको छ।

काउन्सिलले हिंसा, त्रास एवं द्वन्द्वलाई प्रश्रय पुर्‍याउने, प्रायोजित एवं पक्षपोषणयुक्त, घृणास्पद अभिव्यक्ति एवं वैयक्तिक गोपनीयता प्रतिकूल हुने सामग्री सम्प्रेषण नगर्न/नगराउन सञ्चारमाध्यम, आमपत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जालका प्रयोगकर्तामा आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077