Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

म्याग्दी घटनामा हजुरआमा र नातिनीको मृत्यु, एकजना पक्राउ

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७, बिममा शनिबार दिउँसो भएको घटनामा ज्यान गुमाउनेको संख्या दुई पुगेको छ ।

धारिलो ढुंगा (छपनी) प्रहार गरिँदा गम्भीर घाइते भएकी स्थानीय सात वर्षीया प्रियंका गर्बुजाको उपचारका क्रममा पोखराको मणिपाल शिक्षण अस्पतालमा अपराह्न मृत्यु भएको म्याग्दीका प्रहरी नायब उपरीक्षक मदन कुँवरले बताए ।

“प्रियंकाकी हजुरआमा ७० वर्षीया मनीषा गर्बुजाको मालिका–७ को लुरवाङस्थित घटनास्थलमै ज्यान गएको थियो,” उनले भने, “हेलिकोप्टरबाट पोखरा लगिएकी प्रियंकालाई पनि चिकित्सकले मृत घोषणा गरेका छन् ।”

चिर्पट प्रहार गरिँदा घाइते भएकी ६६ वर्षीया अमृता जुग्जालीको मणिपाल अस्पतालमै उपचार भइरहेको छ । चिकित्सकले जुग्जाली खतरामुक्त रहेका बताएका प्रनाउ कुँवरले जानकारी दिए ।

हजुरआमालाई दरवाङ–मराङ सडकमा रगताम्मे देखेपछि बचाउन गएकी प्रियंकाको टाउकोमा छपनी प्रहार गरिएको थियो । प्रियंकाका भाइ प्रिन्सले भने घरको खाटमुनि लुकेर ज्यान बचाएका थिए । मनीषाका छोरा र बुहारी खेतमा काम गर्न गएका समयमा घटना भएको थियो ।

लुरवाङको माथि जंगलमा घाँस काट्दै गरेका अमृता र अर्की एक महिलामाथि पनि चिर्पट प्रहार गरिएको थियो । प्रतिकार गर्ने क्रममा अमृता घाइते भएकी हुन् । बिम तल्लो गाउँनजिकै एउटा ट्याक्सी पनि तोडफोड गरिएको स्थानीयले बताएका छन् ।

हत्या र आक्रमणमा संलग्न भएको आरोपमा मालिका–७, बिमवाङबाट स्थानीयले ‘मानसिक सन्तुलन ठिक नभएका’ एक व्यक्तिलाई नियन्त्रणमा लिएर प्रहरीमा बुझाएका थिए ।

“एकजना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएका छौँ,” प्रनाउ कुँवरले भने “विस्तृत अध्ययन र अनुसन्धानका क्रममा रहेकाले पक्राउ परेका व्यक्तिको नाम गोप्य राखिएको छ । आइतबार तथ्यसहित सबै विवरण र ती व्यक्तिलाई सार्वजनिक गर्छौँ ।” मृतकको शव परीक्षणका निम्ति बेनी अस्पतालमा ल्याइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077