काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुईवटा खेल हुँदैछन् । मूलपानी क्रिकेट मैदानमा गण्डकी प्रदेश र कोशी प्रदेश तथा भैरहवामा रहेको सिद्धार्थनगर क्रिकेट मैदानमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच खेल हुँदैछ ।
गण्डकी र कोशी प्रदेशले अहिलेसम्म जित हासिल गर्न सकेका छैनन् । तीन वटै खेलमा हार बेहोरेको गण्डकी अंक तालिकाको नवौँ स्थानमा छ । पाँचै खेल हारेको कोशी प्रदेश पुछारमा रहेको छ । नेपाल पुलिस क्लब आफ्ना दुवै खेल जितेर चार अङ्कसहित अङ्क तालिकामा चौथो स्थानमा छ ।
त्रिभुवन आर्मी क्लब आफ्ना तीन मध्ये दुई खेल जितेर तालिकाको पाँचौँ स्थानमा छ । अहिलसम्म खेलेका तीनवटै खेल जितेको सुदूरपश्चिम तालिकाको पहिलो र पाँचमध्ये तीन खेल जितेको बाग्मती प्रदेश दोस्रो स्थानमा छ । पाँचमध्ये तीन खेल जितेको मधेस प्रदेश रन रेटको आधारमा तेस्रो स्थानमा छ ।
यो प्रतियोगितामा ७ प्रदेश र तीन विभागीय गरी १० टोली सहभागी छन् ।
प्रतियोगितामा पहिलो पटक ‘राउन्ड रोबिन’ अर्थात् सबै टोलीले एकअर्कासँग खेल्नेछन् । हरेक टोलीले एकअर्कासँग खेलेपछि शीर्ष ४ टोलीले सेमिफाइनल खेल्नेछन् ।