Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • म्याद गुज्रिएका औषधी बेच्ने वीर अस्पताल अगाडिका दुई फार्मेसी बन्द

    म्याद गुज्रिएका औषधी बेच्ने वीर अस्पताल अगाडिका दुई फार्मेसी बन्द

    अनलाइन नेपाल
  • बिहिबार, ३ फाल्गुन २०८०
  • 342
    SHARES

    काठमाडौं । वीर अस्पताल अगाडिका दुईवटा फार्मेसी बन्द भएका छन् । महंगोमा औषधि विक्रिवितरण गरेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको निर्देशनमा औषधि व्यवस्था विभागका अधिकारीहरुले ती फार्मेसीलाई बन्दा गराएका हुन् ।

    कानून विपरित महंगोमा औषधि विक्रिवितरण गरिरहेका उपकार फर्मा र सत्यम फर्मालाई बन्द गरिएको हो । वीर अस्पतालको नयाँ भवनको अगाडि रहेको गुठीको जग्गामा निजीस्तरमा सञ्चालन गरिएका ती फार्मेसीहरुले दर्ता नभएका, म्याद गुज्रिएका र मूल्य नै नतोकिएका औषधि महंगोमा विरामीलाई बिक्रि वितरण गरिरहेको फेला परेको थियो ।



    बिरामीलाई आवश्यक पर्ने औषधि वीर अस्पताल भित्रका फार्मेसीमा नपाउने र वीरका निर्देशकले मिलेमतोमा विरामीलाई बाहिरका फार्मेसीबाट महंगो औषधि किनाउने गरेको गुनासो आएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेतले औषधि व्यवस्था विभागका विज्ञहरु र मन्त्रालयका अधिकारी लिएर बिहीबार आकस्मिक रुपमा वीर अस्पतालले सञ्चालन गरेका अस्पतालभित्र रहेका फार्मेसी र अस्पताल बाहिर निजी स्तरमा सञ्चालनमा रहेका फार्मेसीहरुको अनुगमन गरेका थिए ।



    स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डा विकाश देवकोटा, डा दीपेन्द्ररमण सिंह र नीति तथा योजना डा कृष्ण पौडेल र औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालको नेतृत्वमा सिनियर फर्मासिस्टहरु, मन्त्रालयका अधिकारी र सञ्चारकर्मीसहितको विज्ञ टोली वीर अस्पताल पुगेको थियो ।

    वीर लगायत अधिकांश सरकारी अस्पतालहरुले आफुले सञ्चालन गरेका फार्मेसीहरुमा विरामीलाई चाहिने औषधि उपलब्ध नगराएर बाहिरका निजी फार्मेसीहरुसँगको कमिसनको मिलेमतोमा महंगोमा औषधि किनाउने गरेको गुनासो आए पनि आकस्मिक निरिक्षण गर्नु परेको मन्त्री बस्नेतले बताए ।

    मन्त्री बस्नेतले भने–‘वीर लगायतका सरकारी अस्पतालहरुका फार्मेसीमा विरामीलाई आवश्यक पर्ने औषधि नराख्नुको कारण पत्ता लगाएर समाधान खोज्न अनुगमन गरिएको हो । जनतालाई अस्पतालकै फार्मेर्सीबाट न्युनतम मूल्यमा सहज रुपमा औषधि उपलब्ध गराउनुपर्छ । कसैको मिलेमतो र कमीसनको चक्करमा विरामीले महंगोमा औषधि किन्नु पर्ने बाध्यता हटाउनुपर्छ ।’

    अनुगमनको रिपोर्ट आएपछि वीर लगायत देशभरिकै सरकारी अस्पतालहरुमा सहज रुपमा अस्पतालकै फार्मेसीबाट औषधि उपलब्ध गराइने व्यवस्था गर्ने मन्त्री बस्नेतले बताए । अनुगमनका क्रममा वीर अस्पताल भित्र सञ्चालनमा रहेका तीन वटै फार्मेसीमा आवश्यक औषधि फेला नपरेको अतिरिक्त सचिव डा विकाश देवकोटाले बताए ।

    भित्रै उपलब्ध हुने औषधिको लागि समेत बाहिरबाट किनेर ल्याउनु पर्ने बाध्यता रहेको बिरामीहरुले गुनासो गरेका छन् । अस्पताल बाहिरका दुई वटा फार्मेसी निरीक्षण गर्दा भद्रगोल अवस्था देखेको औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले बताए ।

    सत्यम र उपकार फर्माले औषधि व्यवस्था विभागमा दर्ता नै नभएका औषधि विक्रीबितरण गरिरहेको, म्याद गुज्रेका औषधि विक्रीवितरण गरिरहेको र औषधिको भण्डारण पनि सही ढंगले नगरेको पाइएपछि दुई फार्मेसी बन्द गर्ने निर्णय गरेको महानिर्देशक ढकालले जानकारी दिए ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार