Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

विदेशी भाषा सिकाएर पलायन गराउने ‘दलाल’कै कारण देशको भविष्य अन्योल बन्यो : केसी

बागलुङ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालमा केही पनि हुँदैन भन्दै राजनीतिमाथि वितृष्णा बढाउने र विदेशी भाषा सिकाएर पलायन गराउने ‘दलाल’बाट देशको भविष्य अन्योल भएको दावी गरेका छन् ।

विद्यार्थीले राजनीति बुझ्न छाडेपछि देशमा युवा पलायन बढेको बताउँदै उनले विद्यार्थीले राजनीति बझ्दा र गर्दा देशमा संभावनाको खोजी हुने बताए ।

धौलागिरि बहुमुखी क्याम्पस बागलुङको ६१ औं वार्षिकोत्सव उद्घाटन गर्दै केसीले नेपालको राष्ट्रियतामात्र नभई संस्कृति र शिक्षा प्रणालीमा समेत आक्रमण भइरहेको आरोप लगाए ।

उनले भने–‘नेपालमा केही पनि छैन भनेर युवालाई भ्रमित पार्दै क्याम्पसका कोठा खाली बनाएर विदेशी भाषाका कक्षाहरु भरिएको छ । जब युवाले यो षड्यन्त्र बुझ्छन् तबमात्र विदेश भासिन छाडेर नेपालमा केही गर्छन् ।’

उनले आफ्नै छोराछोरी समेत विदेशमा बसेर नेपालमा केही छैन भन्ने अभिव्यक्ति दिएको गुनासोसमेत गरे । नेपालमा केही हुँदैन भन्दै युवा पलायन भइरहेपछि भारतीय श्रमिकले नेपाली बजार भरिएको उनको भनाई थियो ।

भारतीय श्रमिक भरिंदा नेपालको अस्तित्वमा संकट आउने तर्फ नेतृत्वले सोच्न नसकेको टिप्पणी गर्दै उनले नेपालको शिक्षा नीतिमा सुधार गर्नुपर्ने आवश्यकतासमेत औंल्याए ।

उनले भने–‘गलत शिक्षा नीतिले नेपालका क्याम्पस र विद्यालय खाली भएर एयरपोर्टमा भीड बढेको हो । विद्यार्थीले राजनीति गर्नु हुँदैन भनेर भनिँदा यस्तो भयो ।’

विद्यार्थीकालमै निरंकुशताको विरोध गरेर लोकतन्त्रको स्थापना गर्न खोजेको स्मरण गर्दै उनले विश्वविद्यालयमा वैज्ञानिक शिक्षा भित्र्याउने, देशमा औद्योगिकीकरण गर्ने शिक्षा प्रणाली लागू गर्न सरकार र राजनीतिक नेतृत्व असफल भएको समेत उनले टिप्पणी गरे ।

२०१९ सालमा स्थापना भएको धौलागिरि बहुमुखी क्याम्पसमा अहिले स्नातकतर्फ बीबीए, बीबीएस, बीएसस्सी, बिए र बिएड संकाय संचालनमा छ । स्नातकोत्तरमा पनि व्यवस्थापन, शिक्षा र मानवीकिका विषय पढाइ हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077