Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • सबै राजनीतिक दलले सरकारलाई धन्यवाद दिनुपर्ने बताउँदै प्रधानमन्त्रीले भने–८ खर्बको सरकारी जग्गा फिर्ता ल्याइएको छ

    सबै राजनीतिक दलले सरकारलाई धन्यवाद दिनुपर्ने बताउँदै प्रधानमन्त्रीले भने–८ खर्बको सरकारी जग्गा फिर्ता ल्याइएको छ

    अनलाइन नेपाल
  • बुधबार, ९ फाल्गुन २०८०
  • 714
    SHARES

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार आठ खर्ब बराबरको सरकारी जग्गा फिर्ता गराउन सफल भएको प्रतिकृया दिएका छन् । ललिता निवास प्रकरणका दोषीहरूलाई कारबाही गर्ने आँट गर्दा सरकार आठ खर्ब बराबरको सरकारी जग्गा फिर्ता गर्न सफल भएको बताएका हुन् ।

    आजबाट आन्दोलन थालेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को ४० बुँदे ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री दाहालले यस्तो कुरा बताएका हुन् । अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको केन्द्रीय प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्रीले सरकारले गरेका राम्रा कामका लागि धन्यवाद दिन र अझ राम्रो गर्न प्रोत्साहित गर्नसमेत राप्रपाका नेताहरूसँग आग्रह गरे ।



    प्रधानमन्त्रीले भने–‘नेपाली जनताले सङ्घर्ष गरेर ल्याएको संविधानले सबै नागरिक र राजनीतिक दललाई शान्तिपूर्ण रूपमा आफ्ना माग राख्ने अधिकार दिएको छ। लोकतन्त्र नै त्यस्तो व्यवस्था हो, जहाँ नागरिकले आफ्ना माग र मुद्दा निर्धक्कसँग राख्न सक्छन्। तपाईहरूले पनि त्यही माग राख्नुभएको छ। यसलाई मैले स्वाभाविक रूपमा लिएको छु।’



    प्रधानमन्त्रीले भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण र सुनकाण्डमा गरेको छानविन र कार्वाहीका लागि सबै राजनीतिक दलले सरकारलाई धन्यवाद दिनुपर्ने बताए ।

    प्रधानमन्त्री दाहालले भने–‘नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण र सुन प्रकरणमा सरकारले गम्भीर कदम चालेका कारण नै अहिलेको फैसला सम्भव भएको हो। सरकारले अभियुक्तहरूलाई गिरफ्तार गरी अनुसन्धानको प्रक्रिया टुंगाएर फाइल अदालतमा पेश गरेको थियो, यसकै कारण अहिले अदालतले राम्रो फैसला गरेको छ। ललिता निवासको आठ खर्ब बराबरको जग्गा सरकारको नाममा फिर्ता आएको छ।’

    राप्रपाले आफ्ना मुद्दाहरू लिएर सङ्घर्ष जाने निर्णय गरेकोप्रति आफ्नो भन्नु केही पनि नभएको प्रधानमन्त्रीले बताए । उनले भने–‘तपाईहरूको सङ्घर्ष शान्तिपूर्ण होस्, हामी शान्तिप्रक्रिया टुंगाउन पहल गरिरहेका छौँ, त्यसमा सकारात्मक सहयोग रहोस्। सरकारले गरेका राम्रा काममा समर्थन र सहयोग होस् ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार