Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

उद्योग मन्त्रालयका कर्मचारीको नियमविपरीत सरुवा, पाँडे पँजनीमा को को परे ?

काठमाडौं । निजामती सेवा ऐनमा कर्मचारीको सरुवा २ वर्ष अवधि पुगेपछि मात्र हुने व्यवस्था छ । तर उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भने १२ महिना अवधि नपुगेका कर्मचारीको सरुवा भइरहेको छ ।

अवधि नपुगी सरुवा भएका कर्मचारीहरूले गुनासो र उजुरी नगरेपछि मन्त्रालयका लागि कर्मचारी सरुवा गर्न कुनै पनि ऐन कानुन पल्टाउनुपर्ने अवस्था देखिँदैन । मन्त्री र सचिवले चाहेपछि तत्कालै सरुवा गर्ने परिपाटी उद्योग मन्त्रालयमा फष्टाउँदै आएको छ ।

उद्योग विभागबाट अवधि नपुगी कर्मचारीलाई मन्त्रालय र अन्यत्र सरुवा गर्ने त परिपाटी बसालिसकिएको छ । २ वर्ष नपुगी उद्योग विभागका उपसचिव हरिप्रसाद पँगेनी, रमिला भण्डारी, खगेन्द्रबहादुर बस्नेतलाई मन्त्रालय तानियो । सचिव र मन्त्रीका निकट कर्मचारीहरूलाई उद्योग विभाग पठाउनकै लागि अवधि नपुगी सरुवा गरिएको हो ।

मन्त्रालयले सरुवा गरेपछि लुरुलुरु खटाएको ठाउँमा गएर उपसचिवहरुले काम गर्दैआएका छन् । सो ठाउँमा सचिव र मन्त्रीनिकट उपसचिव अर्जुनसेन ओली र सोम गौतमलाई लगिएको थियो । ओली र गौतम मन्त्रालयमा पदस्थापन भएको ६ महिना नबित्दै शक्तिको आडमा विभाग पुगेका थिए ।

उपसचिवहरू कल्पना घिमिरे, भक्तराज जोशी, उदय गुप्ताहरू पनि अवधि नपुग्दै मन्त्रालयबाट फालिएका थिए । मन्त्री र सचिवको चाहनामा चल्दै आएको विभागमा शक्तिकै आडमा दोहोर्‍याएर एक वर्षमै पुनः विभाग जाने पावरफुल नासु हुन्, उदयराज पौडेल ।

यसअघिका उद्योग मन्त्री रमेशप्रसाद रिजाललाई भेना नाता लाएर मन्त्रालयको स्टोर शाखा सम्हालेका थिए । उनै पौडेललाई रिजालले जाँदाजाँदै उद्योग विभाग पठाएका छन् । पौडेल विभागबाट मन्त्रालय सरुवा भएको एक वर्ष नपुग्दै पुनः सोही कार्यालयमा पुग्ने भाग्यमानी कर्मचारी हुन् ।

त्यस्तै, सचिव मुकुन्दप्रसाद निरौलाले आफ्ना विश्वासपात्र उपसचिव प्रवीण कोइरालालाई कर्मचारी प्रशासन शाखाको प्रमुखमा ल्याएको तीन महिना नबित्दै उनलाई वर्तमान उद्योग मन्त्री दामोदर भण्डारीले वाणिज्य विभागमा पठाएका छन् । वाणिज्य विभागका घनश्याम सुवेदीलाई मन्त्रालयको कर्मचारी प्रशासन शाखाको जिम्मा दिइएको छ ।

सुवेदी पनि डेढ वर्षमै वाणिज्य विभाग छाड्ने कर्मचारी बन्न पुगेका छन् । वाणिज्यको दर्ता शाखामा केही समय कार्यरत रहेर प्रशासन शाखाको प्रमुख चलाइरहेका सुवेदीलाई मन्त्रीका निजी सचिव विवेक घिमिरेको जोडबलमा मन्त्रालयको महत्वपूर्ण शाखा दिइएको हो ।

हालका मन्त्री आएपछि निरीह बन्न पुगेका सचिव निरौलाले आफ्नै रोजाइमा लगेका कोइरालालाई टिकाउन सकेनन् । निरौलाले औद्योगिक प्रवर्द्धन शाखामा लगेका उपसचिवद्वय शेखर पौडेल र सुरेश दाहाललाई पनि सरुवा गर्ने तयारीमा मन्त्रीको सचिवालय लागेको छ ।

जहाँ जहाँ तत्कालीन मन्त्री रिजाल र सचिव निरौला निकट कर्मचारी छन्, तिनको पृष्ठभूमि बुझ्दै थान्को लाउने क्रम उपसचिव कोइरालाबाटै सुरु भएको छ । यो क्रम कहाँसम्म पुग्ने हो हेर्न बाँकी छ । उपसचिव मातृका आचार्य जो रिजालका निजी सचिव थिए, उनलाई उद्योग मन्त्रालयबाटै ससम्मान बिदाइ गर्ने तयारी गरिएको छ ।

आचार्यको समूहले घिमिरेलाई यसअघि उद्योग मन्त्रालय छाड्न बाध्य बनाएका थिए । उक्त घटना नबिर्सेका घिमिरेका लागि अहिले आफ्ना विरोधीहरू छानिछानी सरुवा गर्ने दायित्व आइलागेको छ । वाणिज्यकै उपसचिव भेष कुँवर करिब आधा महिनादेखि मन्त्रालयमा सरुवा भएर आएका छन् ।

निरौलाले कुँवरलाई उपयुक्त जिम्मेवारी दिने बाचाका साथ सरुवा गरे पनि त्यो पूरा गर्न सकेका छैनन् । उनी अहिले हाजिर गर्दै फर्किनेमा सीमित छन् । कुँवरलाई अघिल्लो मन्त्रीका पालामा ल्याइएको हुँदा अहिलेका मन्त्रीले पनि जिम्मेवारी दिने संकेत देखिएको छैन ।

अवधि नपुगी उद्योग विभागबाट सरुवा भएकी कमला घिमिरे एक वर्षको बीचमा सूचना प्रविधि शाखाबाट नीति योजनामा पुगेकी थिइन् । उनै घिमिरेलाई आइतबार वाणिज्य विभागतिर पठाएर निरौलाले आफ्ना विश्वासपात्र कोइरालालाई पठाएका छन् ।

घिमिरेको भाग्यमै नभएर हो वा अरू कुनै कारणले हो, एक वर्षको बीचमा उद्योग विभाग, मन्त्रालयमा केही दिन जिम्मेवारीविहीन, पछि मन्त्रालयका २ वटा शाखा हुँदै वाणिज्य विभागमा पुर्‍याइएकी छन् । ३ वर्षदेखि एकछत्र राज गरेकी सचिव चन्द्रकला पौडेलले महिला उपसचिव घिमिरेलाई संरक्षण गर्न नसकेको आरोप छ ।

अहिले मन्त्रालय पौडेलकै इशारामा चल्ने गरेको छ । अघिल्ला मन्त्री र सचिव निरौलाले मन्त्रालय र विभागमा कांग्रेसनिकट कर्मचारी मात्र सरुवा गरेको झोसपोल मन्त्री भण्डारीलाई सहसचिव पौडेलले लगाएको आरोप छ । भण्डारीको बहालीपछि पौडेलको फुर्तीफार्ती यतिसम्म बढेको छ कि सचिवद्वय निरौला र नारायण शर्मा दुवाडीसमेत उनकै इशारामा चलेको आरोप छ ।

पौडेलले आफूले मन्त्रालयमा सुधार गरिरहेको, अहिलेसम्म प्रगतिमा आफ्नो ठूलो योगदान रहेको बताउने गरेकी छन् । उनकै इशारामा सहसचिवद्वय रामचन्द्र तिवारी, छवि रिजाल र जीवलाल भूसाललाई मन्त्रालयबाटै आउट गर्ने तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077