Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सन्दिग्ध इजरायली आक्रमणमा इरानका दुई वरिष्ठ कमान्डरको मृत्यु, बदला लिने तेहरानको चेतावनी

सिरिया । सिरियाको दमास्कसस्थित इरानी वाणिज्य दूतावास भवनमाथि इजरायलले गरेको सन्दिग्ध हमलाको कठोर जबाफ दिने तेहरानले चेतावनी दिएको छ ।

इरानी विदेशमन्त्री होसैन अमिर अब्दोल्लाहिअनले हमलालाई अन्तर्राष्ट्रिय महासन्धिहरूको उल्लङ्घनको संज्ञा दिएका हुन् ।

दमास्कसमा सोमवार गरिएको हमलाको बदलामा उस्तै कदम चाल्ने अधिकार इरानसँग रहेको इरानी विदेश मन्त्रालयका प्रवक्ताले बताए ।

आक्रमणमा ११ जना मारिएका विवरणमा जनाइएको छ । तीमध्ये इरानको रिभोल्युश्नरी गार्ड्सका दुईजना वरिष्ठ कमान्डर पनि रहेका छन् ।

रिभोल्युश्नरी गार्ड्सले विज्ञप्तिमार्फत् जनाएअनुसार मारिनेमा ब्रिगेडियर जनरल मोहम्मद रेजा जाहेदी पनि रहेको पुष्टि भएको छ ।

इरानी विदेशमन्त्री होसैन अमिर अब्दोल्लाहिअनले उक्त आक्रमणले अन्तर्राष्ट्रिय महासन्धिहरूको उल्लङ्घन गरेको बताए ।

दमास्कसको मेज्जेह जिल्लास्थित इरानी वाणिज्य दूतावास भवन हमलापछि ध्वस्त भएको अनलाइनमा राखिएका भिडिओहरूमा देखिन्छ ।

यसैबीच, इरानको राजधानी तेहरानमा प्रदर्शनकारीहरूले इजरायलविरोधी नारा लगाउँदै इजरायली झन्डा जलाएका छन् ।

जाहेदीको मृत्युका लागि इजरायल जिम्मेवार रहेको इरानले जनाएको छ जसलाई दुई देशबीच तनाव चुलिने एउटा सङ्केतको रूपमा हेरिँदै छ ।

‘निशाना र त्यसका लागि जिम्मेवार पक्षबारे’ अमेरिकालाई थाहा हुन नसकेको ह्वाइट हाउसले बताएको छ । रासस एएफपी

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077